Logo

मोरङमा उम्मेदवार घरदैलो अभियानमा



विराटनगर, २५ कात्तिक : मोरङ क्षेत्र नं १ मा चुनावी प्रचारप्रसारले तीव्र रुप लिएको छ । निर्वाचनको तिथि नजिकिदै जाँदा उम्मेदवार घरदैलो अभियानका साथै कोणसभामा बढी केन्द्रीत भएका छन् । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि एक महिला, दुई स्वतन्त्र गरी दसजना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

क्षेत्र नं १ मा पुरुषको तुलनामा महिला मतदाताको संख्या तीन हजार ७३७ बढी छ । एक लाख सात हजार २३४ कुल मतदाता रहेकामा पुरुष मतदाता ५१ हजार ७३७ छन् भने महिला मतदाता ५५ हजार ४९७ रहेका छन् ।

क्षेत्र नं १ मा दुई नगरपालिका र दुई गाउँपालिका रहेको छ । उर्लाबारी नगरपालिकामा सबैभन्दा बढी ४१ हजार ३५८, लेटाङ नगरपालिकामा २४ हजार २९६, मिक्लाजुङ गाउँपालिकामा २१ हजार पाँच तथा केराबारी गाउँपालिकामा २० हजार ५७५ मतदाता रहेका छन् ।

यहाँका उम्मेदवार सडक, कृषि क्षेत्रको आधुनिकीकरण, सुकुम्वासी समस्या, विराटनगरलाई प्रादेशिक राजधानी बनाउने, नदी नियन्त्रण, बेरोजगारीलगायत समस्यालाई समाधान गर्ने वचनबद्धताका साथ मतदातालाई आकर्षित पार्न व्यस्त देखिन्छन् ।

जिल्लामा ६ वटा संसदीय तथा १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ७९ वर्षीय भीमबहादुर तामाङ स्वतन्त्र उम्मेदवारका रुपमा कान्छा उम्मेदवार ३२ वर्षीय अशोक चेम्जोङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट क्षेत्र नं १ को चुनावी मैदानमा हुनुहुन्छ ।

काँग्रेसबाट डिगबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रबाट संघीय समाजवादीबाट नरेन्द्र शम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका फिवराज लिम्बू, नयाँ शक्ति पार्टीका हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनका सुरज लिम्बू, संघीय समाजवादी फोरमका राजकुमार लिम्बू र स्वतन्त्र यामप्रसाद दाहाल चुनावी मैदानमा हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्