Logo

हिन्दूराट्र र भ्रष्टाचारसम्बन्धी शुन्य सहनशिलता आफ्नो पार्टीको मुख्य एजेण्डा : लोहनी



विक्रम थापा र रामबिर मानन्धरलाई अब जनताले पत्याउनेवाला छैनन् : सह–महामन्त्री राणा 

काठमाडौं, २५ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा, हिन्दूराट्र र भ्रष्टाचारसम्बन्धी शुन्य सहनशिलता आफ्नो पार्टीको मुख्य एजेण्डा भएको भन्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन अपिल गरेका छन् ।

शनिबार काठमाडौंको बालाजुस्थित् छो रोल्पा पार्टी प्यालेसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले मुलुकमा अहिले बेथिति बढेको, भ्रष्टाचार मौलाएको, कालोबजारी, महँगी ह्वात्तै बढेकोले अबको निर्वाचनमा सरकारमा बस्ने पार्टीका विपक्षमा जनताले मतदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टीका सह महामन्त्री प्रदिप विक्रम राणाको सभापतित्वमा आयाजित कार्यक्रममा अध्यक्ष लोहनीले आफ्नो पार्टी विजयी भए पछिल्लो समय देखा परेका सबै खाले बेथिति तथा भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा सह महामन्त्री राणाले विगत ४० वर्षदेखि राजनीति गर्दै आएका राप्रपा नेता एवम् हालका महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा आफ्नो क्षेत्रबाट चुनाव नउठी टुरिष्ट उम्मेद्धवारको हिसाबले काठमाडौं क्षेत्र नम्बर ७ मा जानु नै उनको पराजय भैसकेको आरोप लगाए ।

उनले भने,“थापाजस्तो चार दशक लामो सक्रिय राजनीतिमा संलग्न व्यक्ति डराएर आफ्नो क्षेत्र छोडेर अर्काको क्षेत्रमा जानु नै उनको हार भैसकेको छ, त्यतिमात्रै होईन, उनी त तीन पटक सम्म जिल्ला विकासको सभापति भैसकेका छन्, दुई पटक मन्त्री भैसकेका छन्, काठमाडौंको विकासमा उनको कुनै भूमिका छैन, उनले काठमाडौंका जनताको हितमा एउटा पनि काम गरेको पाईदैन, त्यसैले उनलाई किन भोट दिने ?”

थापाप्रतिमात्रै नभएर राणाले एमाले र माओवादी केन्द्रका संयुक्त वाम उम्मेद्धवार रामबिर मानन्धरको समेत आलोचना गरे । राणाले मानन्धर १६ नम्बर वडाको अध्यक्ष हुँदै सभासद समेत बनिसकेको व्यक्तित्व भएपनि यहाँको क्षेत्रको विकासमा उनको कुनै पनि योगदान नदेखिएकोले जनताले यसपटक उनलाई सबक सिकाउने दाबी गरे । उनले आफ्नो पार्टीबाट उम्मेद्धवार बनेका युवा नेता आकाश ढकालले मात्रै यहाँको क्षेत्रको विकास गर्न सक्ने विश्वास व्यक्त गर्दै उनको पक्षमा मतदान गर्न आम जनतासँग अपिल गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारा लुईंटेल, उम्मेद्धवार आकाश ढकाल, आशुतोष मालाकार लगायतले आफ्नो धारणा राखेका थिए । काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा र राप्रपा राष्ट्रवादीवीच कडा प्रतिष्पर्धा हुँदा बाम गठबन्धनले फाईदा लिन सक्ने स्थानीय नेताहरुले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्