Logo

एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान चुनावले मात्रै रोकिएको होः दाहाल



रत्ननगर, चितवन, २५ कात्तिक (रासस)ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताउनुभएको छ ।

दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आज साँझ भएको चुनावीसभाका क्रममा अभियान अहिले निर्वाचनका कारण मात्रै रोकिएको बताउनुभयो ।

निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताउनुभयो ।

निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै नेता दाहालले सबै कम्युनिष्ट उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्नुभयो । चितवनको विकास गरी नमुना सहर बनाउन आफू यहाँ आएको उल्लेख गर्दैे पूर्वप्रधानमन्त्री दाहालले यहाँको राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासनसमेत दिनुभयो ।

उहाँले भरतपुर महानगरपालिका वडा नं १४, १५, २१ र २२ वडाका फूलबारी, शिवनगर, पटिहानी, पार्वतीपुरलगायत क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको थियो । घरदैलोका क्रममा स्थानीयवासीले बाटोघाटो, खानेपानी र स्कूल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । उहाँले आजै वाम गठबन्धन निकट कानुन व्यवसायीसँग भएको अन्तरक्रियामा सहभागी हुँदै यो ऐतिहासिक अवसर गुमाउन नहुनेमा जोड दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्