Logo

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनको शानदार जित



काठमाडौं, २६ कार्तिक । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ५–० ले हराएको हो । विश्वकपमा स्थान पक्का गरेको स्पेनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्‍यो । स्पेनका जितमा डेविड सिल्भाले दुई तथा जोर्डी अल्बा, अल्भारो मोराटा र इनिएस्टाले एक एक गोल गरे ।

छैटौं मिनेटमा नै अल्बाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । २३ औं मिनेटमा मोराटाले गोल गरेपछि पहिलो हाफमा स्पेनले २–० को अग्रता लियो । ५१ र ५५ औं मिनेटमा गरी सिल्भाले दोस्रो हाफको सुरुमा नै दुई गोल गरेपछि स्पेनले ४–० को अग्रता लियो ।

निकै प्रभावकारी र बलियो देखिएको स्पेनका लागि ७३ औं मिनेटमा इनिएस्टाले गोल गर्दै ५–० को जित निश्चित गरे । विश्वकपमा छनौट भएको कोस्टारिका भने स्पेन सामु निकै कमजोर देखियो । उसले एक पटक पनि पोस्ट प्रहार गर्न सकेन ।

स्पेन प्रशिक्षक जुलेन लोपेतेगुइको प्रशिक्षणमा पछिल्ला १५ खेलमा अपराजित रहँदै आएको छ । राति नै भएका अरु खेलमा मेसेडोनियालो नर्वेलाई २–० तथा चेक गणतन्त्रले कतारलाई १–० ले हरायो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्