Logo

दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा



भीमदत्तनगर, २६ कात्तिक : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचनमा मतदान गरी सहयोग गर्ने घोषणा गरेका छन् ।

तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर काँग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् ।

“हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भन्नुभयो, “जिल्लामा निर्वाचन परिचालन समितिसमेत बन्नेछ ।”

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले दुई राप्रपाको सहयोग निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वाम गठबन्धनले कञ्चनपुरमा उम्मेदवार छनोटमा यहाँका थारु समुदायलाई उपेक्षा गरेको भन्दै काँग्रेसले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले निर्वाचनअघि नै मुलुकमा चुनावी तालमेल भएर नयाँ अभ्यास शुरु भएको बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयन नहुँदै वाम गठबन्धनले संविधान परिवर्तन गर्न खोजिरहेको आरोप लगाउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्