Logo

काँग्रेसको बहुमत आउँछः उपप्रधानमन्त्री श्रेष्ठ



वालिङ, स्याङ्जा, २६ कात्तिक, (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आसन्न निर्वाचनबाट नेपाली काँग्रेसले बहुमत ल्याउने जिकिर गर्नुभएको छ ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका श्रेष्ठले कम्युनिष्ट पार्टीको गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले भएको बताउनुभयो ।

“२०४८ सालमा नेपाली काँग्रेसले चार वटै क्षेत्रमा जित दर्ता गरेको थियो” नेता श्रेष्ठले भन्नुभयो, “यस पटक पनि संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आतुर हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।”

नेता श्रेष्ठ निर्वाचन क्षेत्रका विभिन्न स्थानमा हुने चुनावीसभा तथा कार्यकर्ता भेटघाटमा रहनुभएको छ । स्याङ्जा क्षेत्र नं २ मा काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठ र नेकपा (एमाले)का केन्द्रीय सदस्य पदमा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने बताइएकोछ ।



प्रतिक्रिया दिनुहोस्