Logo

यू-१९ एसिया कप, भारतमाथि नेपालको ऐतिहासिक जित



काठमाडौं, २६ कार्तिक ।  कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन मद्तमा नेपाल यू-१९ ले भारत यू-१९ माथि ऐतिहासिक जित हासिल गरेको छ।

मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले भारतलाई हराएपछि समूह ए मा २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। समूह एम नेपाल भारत र बंगलादेशको समान २ अंक छ। नेपालले अब मंगलबार मलेसियासँग समूहको अन्तिम खेल खेल्नेछ।

नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे। १८६ रनको लक्ष्य पछ्याएको भारतलाई ४८.१ ओभरमा १६६ रनमै अलआउट गर्दै नेपालले शानदार जित निकालेको हो।

भारतले राम्रो शुरुवात गरेपद्दि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गर्दै धारिलो बलिङ गरेपछि अलआउट भएको हो। कप्तान हिमाशुं राना र मन्जोत कार्लाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै भारतलाई गतिलो शुरुवात दिलाएका थिए। तर कमल सिंह ऐरीले कप्तान रानालाई आउट गरेपछि भारतले निरन्तर अन्तरमा विकेट गुमायो।

भारतका लागि रानाले सर्वाधिक ४६ रन बनाए भने मन्जोट्टले ३५ रन जोडे। यस्तै अभिषेक शर्माले २७ तथा अनुज रावतले १८ रन बनाए। नेपालका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका दीपेन्द्रले २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिएका हुन्।

यस्तै पवन सराफ र शहाब आलमले २-२ विकेट लिए भने कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट झारे। कप्तान दीपेन्दरकै उतृष्ट इनिङ्स मद्दतमा बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो।

एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ्स उकास्दै सम्मानजनक स्कोर खडा गर्न खसहयोग गरे। नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए। १०१ बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे।

भारतका आदित्य थकारे र अभिषेक शर्माले २-२ विकेट लिए। समूह ए मा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो।



प्रतिक्रिया दिनुहोस्