Logo

नीतिगत सुधारको माग गर्दै भ्यालुयर्स एसोसियसनले थाल्यो आन्दोलन, ३ दिन काम ठप्प पार्ने



कात्तिक २६, काठमाण्डौ । सम्पत्ति मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताहरुको संगठन भ्यालुयर्स एसोसियनले मूल्याङ्कन नीति अस्पष्ट भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एसासियसनले नीतिगत अस्पटताका कारण मूल्याङ्नकर्ता इन्जिनियरहरुले समस्या भोग्नुपरेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एसोसियसनका अध्यक्ष ऋषि कोइरालाले सम्पत्ति मूल्याङ्कका विषयमा भएका अस्पष्टता र अपारदर्शितालाई समाप्त गर्नका लागि एसोसियसन र नेपाल बैँकर्स एसोसियनबिच सहमति भए पनि त्यसअनुसार काम हुन नसकेको बताए । बैँकर्स एसोसियसनले समस्या समाधानका लागि कुनै निचोड निकाल्न नसकेको कोइरालाको भनाई छ ।

नेपाल भ्यालुयर्स एसोसियसनका अध्यक्ष ऋषि कोइराला

त्यस्तै बैँकहरुको नियमन निकाय नेपाल राष्ट्रबैँकले पनि समस्या समाधानका लागि कुनै चासो नदिएको गुनासो कोइरालाको छ । तर नेपाल राष्ट्र बैँकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने सम्पती मूल्याङ्कनको विषय पूर्ण रुपमा राष्ट्रबैकले नियमन गर्ने व्यवस्था नभएको जानकारी दिए ।

नेपाल राष्ट्र बैँकका प्रवक्ता नारायणप्रसाद पौडेल

पत्रकार सम्मेलानमा बोल्दै पौडेलले भ्यालुयर्स एसोसियसन र बैँकर्स एसोसियनबिच समन्वय गरेर समस्या समाधान गर्न सल्लाह दिए । बैँक र मूल्याङ्कन कर्ताबिचको समस्या भएकाले राष्ट्रबैकको प्रत्यक्ष भूमिका केही पनि हुन नसक्ने पौडेलको तर्क छ । सबै कुरा राष्ट्रबैँकले हेर्न सक्दैन । असल अभ्यास पनि हुनुपर्छ । पौडेलले भने ।
अस्पष्टता र समस्या समाधानका लागि सरोकारवालासँग बसेर छलफल गर्नका लागि भने राष्ट्रबैँक तयार रहेको पौडेलको भनाई छ ।

कार्यक्रममा कानुनविद नारायणप्रसाद कोइरालले नीतिगत अस्पटताका कारण समस्या आएको बताए । इन्जिनियरसमेत रहेका कोइरालाले नीतिगत अस्ष्टताका साथै बैँकका कर्मचारीको मिलेमतोका कारण पनि मूल्याङ्कन कर्ता समस्यामा पर्ने गरेको बताए ।

कानुनविद नारायणप्रसाद कोइराला

कतिपय मूल्याङ्कन जग्गाको नक्कली कागजपत्रका आधार गरिने र त्यस्तो मूल्याङ्कन पनि नक्कली नै हुने भएकाले यसतर्फ भने मूल्याङ्कनकर्ता पनि सचेत हुनुपर्ने सुझाब कोइरालाले दिए । अर्कोतर्फ राष्ट्रबैँकको निर्देशन बैँकहरुले पालना नगर्ने हुँदा यस्ता समस्या आउने गरेको कोइरालाको भनाई छ ।

नेपाल भ्यालुयर्स एसोसियनले सरोकारवाला संस्थाको मूल्याङ्कन नीतिमा अस्पष्टता, अपारदर्शिता तथा एकरुपता नहुँदा मूल्याङ्कनकर्तालाई अनावश्यक रुपमा कालोसुचिमा राख्ने, ठगी तथा बैँकिङ कुर जस्ता जघन्य फौजदारी अभियोगमा अनुसन्धान तथा एकतर्फी कारबाही गर्ने गरिएकोप्रति आपत्ति जनाएको छ । एसोसियसनले मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाई लगाएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरेको छ ।

एसोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मूल्याङ्कनकर्ता इन्जिनियरहरु विशुद्ध प्राविधिक जनशक्ति हुँदा हुँदै पनि ऋणसँग सम्बन्धित कागजातको शुद्धता प्रमाणिकरण गर्नेदेखि लिएर एकतर्फी रुपमा बैँक तथा वित्तिय संस्थाले तयार पारेका ऋणको धन जमानी सरहका सम्झौता पत्रहरुको संशोधन तथा खारेजी गर्नको लागि यस एसोसियसन जोडदार माग गर्दछ ।”

एसोसियसनले यही कात्तिक २८ देखि ३० गतेसम्म मुलुकभर सम्पूर्ण मूल्याङ्कन कार्य नगर्न मूल्याङ्कनकर्ताहरुलाई अपिल गरेको छ ।

वरिष्ठ मूल्याङ्कनकर्ता देवेन्द्र कुमार श्रेष्ठ

कार्यक्रममा वरिष्ठ मूल्याङ्कनकर्ता देवेन्द्र कुमार श्रेष्ठले नेपालमा सम्पत्ति मूल्याङ्कनको निश्चित मापदण्ड नभएकाले पनि समस्या आएको बताए । सम्पत्ति मूल्याङ्कनको कुनै निश्चित परिधि नहुने भन्दै श्रेष्ठले विश्वमा पनि सम्पत्ति मूल्याङ्कन सहजै हुन नसक्ने भएकाले यस विषयमा मूल्याङ्कनकर्तालाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्