Logo

आर्थिक समृद्धिका लागि गठबन्धनको जित आवश्यक : महामन्त्री कोइराला



गोरखा, २६ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयन र देशलाई आर्थिक विकासको दिशातर्फ उन्मुख गर्न लोकतान्त्रिक गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ ।

चुनाव प्रचारप्रसार अभियानमा सहभागी हुन आज गोरखा आउनुभएका महामन्त्री कोइरालाले देशमा कम्युनिष्ट शासन ल्याउने चेष्टाका साथ कम्युनिष्टहरु लागिपरेको आरोप पनि लगाउनुभयो ।

कोइरालाले आज मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनले निर्वाचन जितेमा मात्रै संविधानमा निर्दिष्ट अधिकार जनताले पाउने बताउनुभयो ।

चुनावी सभामा गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा १ प्रदेश (ख) का उम्मेदवार राजेन्द्र बजगाईं, समानुपातिक उम्मेदवार तथा काँग्रेस गोरखाका सभापति हरिबहादुर घले, काँग्रेस नेत्री कमला पन्तलगाययतले लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने धारणा राख्नुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्