Logo

माओवादी केन्द्रले सिद्धान्त भुलेको वनमन्त्री पाण्डेको आरोप



रत्ननगर, चितवन, २६ कात्तिक : वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले नेकपा (माओवादी केन्द्र)ले पार्टी सिद्धान्त भुलेको आरोप लगाउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले सिद्धान्त भुलेर माओवादी केन्द्रले कहिले काँग्रेसको बुई चढ्ने त कहिले एमालेलाई अंकमाल गर्ने गरेको बताउनुभयो ।

आज चितवनको भरतपुर वडा नं ६ स्थित गीतानगरमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसारप्रसार समितिको कार्यालय उद्घाटन गर्दै उहाँले नक्कली वामपन्थीको पर्दाफास भएको समेत जिकिर गर्नुभयो ।

आफ्ना प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै पाण्डेले भन्नुभयो, “अब चुनाव जित्छु भनेर नसोचे पनि हुन्छ ।” उहाँले दाहाललाई टुरिस्टको संज्ञा दिँदै आफूले निर्वाचन जिते पनि हारे पनि चितवन नछाड्ने दाबीसमेत गर्नुभयो ।

यसअघि चितवन क्षेत्र नं ५ बाट निर्वाचित सांसद तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्षसमेत रहनुभएका पाण्डेले यसपालि काँग्रेसले पनि समर्थन दिएर पठाएकाले चुनाव जित्ने हिम्मत बढेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राप्रपा (प्रजातान्त्रिक) र काँग्रेस बीचको गठबन्धन प्राकृतिक भएको समेत दाबी गर्नुभयो । विगतमा महानगर चुनावमा माओवादीले गरेजस्तो धोका आफूबाट नहुने भन्दै माओवादी केन्द्रले काँग्रेससँग गरेको सहकार्य टुटाउनु निकै ठूलो भूल साबित हुने पाण्डेले जिकिर गर्नुभयो ।

मन्त्री पाण्डेले भरतपुर–ठोरी सडक अन्तर्राष्ट्रियस्तरको बनाई सबै सडक कालोपत्र गर्ने र विदेशिएका युवालाई स्वदेशमै उद्यमी बनाउने आफ्नो योजना रहेको जानकारी गराउनुभयो ।

सो क्रममा चितवन क्षेत्र नं ३ को प्रदेशसभा क्षेत्र (क)का उम्मेदवार दिनेश कोइरालाले समृद्ध राष्ट्र निर्माणका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक हुनेमा जोड दिनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्