Logo

जनआन्दोलन दबाउनेलाई भोट नदिन कृष्ण सिटौलाको सुझाब, कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी



कात्तिक २८, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमा लागेर गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले जनताले खुशीसाथ मतदान गर्ने बताएका छन् ।
झापास्थित सिटौलाको निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा कुरा गर्दै गणतन्त्र ल्याउनका लागि रगत बगाएका सहिदको सम्मानका लागि पनि आफूलाई मतदान गर्नुपर्ने तर्क सिटौलाले गरेका छन् ।

“परिवर्तनको पक्षमा रहेको कुनैपनि मतदाताले मलाई छोडेर राप्रपाका उम्मेदवारलाई भोट हाल्नै सक्दैनन् । यो मेरो विश्वास हो ।” सिटौलाले भने ।
जनआन्दोदनमा आफ्नो भूमिका कस्तो थियो भन्ने कुरा मतदातालाई राम्रोसँग जानकारी भएको बताउँदै सिटौलाले त्यही आन्दोलन दबाउन शक्तिको दुरुपयोग गर्ने दलका नेतालाई जनताले भोट हाल्न नसक्ने दाबी गरे ।
आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव जितेर पहिलोपटक कार्यकाल पूरा गरेको बताउँदै सिटौलाले ६ पटक चुनाव लड्दा तीन पटक जिते पनि बाँकी २ पटकको कार्यकाल भने पूर्ण रुपमा विताउन नपाएको जानकारी दिए ।

दोस्रो संविधानसभाको चुनावका बेला संविधान निर्माण गर्छु भनेर भोट मागेको स्मरण गर्दै सिटौलाले कांग्रेसकै सभापतिको नेतृत्वको सरकारको अगुवाईमा संविधान निर्माण भएको बताए । उनले आफू संविधान मस्यौदा समितिको सभापतिको हैसियतले संविधान निर्माणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेलेको जनतालाई स्मरण गराएका छन् ।
संविधान निर्माणका साथै आफ्नो निर्वाचन क्षेत्रमा करिब साँडे तीन अरब बजेट विकास निर्माणका लागि विनियोजन गरिएको जानकारी सिटौलाले दिए । भौतिक पूर्वाधार निर्माणका कामले पछिल्लो समय तिब्र गति लिएको दाबी गर्दै सिटौलाले थुप्रै आयोजनाहरु अघि बढाएको जानकारी दिए । आफ्नो पहलमा सुरु भएका झापाका ठूला आयोजना अब डेड वर्षभित्रमा निर्माण सम्पन्न हुने सिटौलाको दाबी छ ।

प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई उनले राजाको शासन कालमा के विकास भयो भनेर प्रश्न गरेका छन् । “राजा ज्ञानेन्द्रको शासनकाल ४ वर्ष चल्यो । यही राप्रपाका नेताहरु उनका हर्ताकर्ता भए । देश दमको चक्रव्यूहमा फस्यौँ । विकास भएन ।” सिटौलाले भने ।
राजाको पालामा मनोनित जिल्ला विकास समितिको सभापति भएर २ ट्याक्टर गिटी छरेको भरमा विकास गरेँ भन्न नमिल्ने भन्दै सिटौलाले लिङ्देनका कटाक्ष गरे ।
राप्रपाका नेताहरुले दमन, लुटपाट, हत्याबाहेक अरु केही पनि काम नगरेको सिटौलाको भनाई छ ।
विगतको जनआन्दोलन र राजनीतिक यात्रालाई विर्सेर कसैले पनि राजनीति गर्न नहुने तर्क सिटौलाले गरेका छन् । जनआन्दोलनमा मारिएर सहिद बनेकाहरुको भावनालाई कुल्चेर अगाडि जान नसकिने सिटौलाको तर्क छ । “जनआन्दोदनको भावनालाई सम्झेर अगाडि बढ्ने हो । सहिदको सपनालाई विर्सेर कहिँ पुग्न सकिदैन । इतिहासलाई विर्सन पाइदैन ।” सिटौलाले भने ।

सिटौलाले परिवर्तन नचाहने शक्ति राप्रपासँग कांग्रेसले चुनावी तालमेल गरेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । जनआन्दोलन र संघर्षलाई दबाउनका लागि बर्बर क्रुर काम गर्नेहरुलाई बोकेर हिँड्न नुहने सिटौलाको भनाई छ ।
लोकतन्त्रवादीहरुलाई स्मरण गराउँदै सिटौलाले भने, “विपि कोइरालालाई राजाले किन जेलमा लगे ? वामपन्थीहरु किन जेल परे ? कसैले त्यसको उत्तर दिन सक्छ ? के थियो कारण त्यसबेला ? पन्चायती अदालतले फैसला गरेर हाम्रा मान्छेहरुलाई फाँसिको सजायँ दियो । के छ त्यसको उत्तर ? तिनकै अवशेष हो आजको राजनीति । त्यसैले सम्पूर्ण रुपमाले परास्त गर्नुपर्छ । त्यो सन्देश दिन्छ, झापा क्षेत्र नम्बर ३ ले ।”

पछिल्लो समय वाम गठबन्धनका कारण कांग्रेस कमजोर भयो भनिएको छ नि भनेर पत्रकार ऋषि धमलाले गरेको प्रश्नको सिटौलाले खण्डन गरेका छन् । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दाबी सिटौलाको छ । “निर्वाचनपछि कांग्रेस एक नम्बर पार्टी बन्छ । फरक पर्दैन । निर्वाचन परिणामले देखाउँछ ।” उनले भने ।
नेपाली कांग्रेसको नेतृत्वमा संविधान आएको स्मरण गराउँदै सिटालाले संविधान जारी भएपछिको पहिलो चुनाव कांग्रेसले कसरी हार्छ भनेर प्रश्न गरे ।
“वाम तालमेल गरिए पनि जनताको सबै मत जाने भन्ने हुँदैन ।” सिटौलाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्