Logo

७ हजार मतान्तरले आफू विजयी हुने मोदीको दाबी



मोरङ्ग, २९ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवम् मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार अमनलाल मोदीले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले देशव्यापी रुपमा बहुमत ल्याउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले मोरङ्गमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मोदीले यस्तो बताएका हुन् । उनले भने,‘जनताकै चाहना अनुसार वाम गबठन्धन बनेको हो, अबको निर्वाचनमा हामी देशभरि नै बहुमत ल्याउँछौं, यसमा कुनै शंका छैन।’

वाम गठबन्धनले बुहमत ल्याएपनि मुलुकमा कम्युनिष्ट शासन नआउने उनको भनाई थियो । मोदीले थपे,‘हामी जनयुद्ध सोचेजस्तो सफल नभएपनि १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा आएका हौं, अब मुलुकको विकासको लागि हामी एकजुट भएर अघि बढ्छौं, अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि हो।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफू चुनाव जित्नेमा ढुक्क रहेको समेत जिकिर गरे ।

उनले थपे,‘म आरामसँग चुनाव जित्छु, म त सबैको मनमा बसेको छु, ७ हजार मतान्तरले जित्छु, मेरो क्षेत्रमा वाम गठबन्धनको मात्रै नभएर कांग्रेससहित अन्य दलको पनि मलाई सहयोग छ, म साझा उम्मेद्धवार हुँ ।’ उनले आफ्नो केही कमीकमजोरी भए सच्याउन तयार रहेको समेत विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्