Logo

उम्मेदवारका गाडीले इन्धनको खपत बढायो, पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर



२९ कात्तिक, काठमाडौं । निर्वाचनका बेला नेता तथा उम्मेदवारहरुले प्रयोग गर्ने सवारी साधनको संख्या बढेसँगै इन्धनको खपत पनि बढेको छ । आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो ।

आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ । डिजेलको दैनिक खपत करिब ३५ सय किलोलिटर छ । सामान्य अवस्थामा पेट्रोलको खपत एक हजार किलोलिटर हो भने डिजेलको तीन हजार मात्र छ ।

विकास निर्माणका गतिविधि शुरु हुने सिजन यही हो । निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुको भनाइ छ । तर, अहिलेको खपत वृद्धिको मुख्य कारण निर्वाचन नै भएको उनीहरु बताउँछन् ।

निगमका अनुसार गत अक्टोबरमा पेट्रोल खपत ४२ हजार किलोलिटर थियो । सेप्टेम्बरमा ३८ हजार किलोलिटर पेट्रोल खपत भएको थियो । यस्तै, सेप्टेम्बरमा ८५ हजार किलोलिटर खपत भएको डिजेल अक्टोबरमा एक लाख किलोलिटर पुगेको छ ।

निगमका अनुसार अहिले ग्यासको मासिक खपत ३० हजार मेट्रिक टन छ । ग्यासको खपतमा भने उतारचढाव नभएको निगम बताउँछ ।

नोभेम्बरभरिमा डिजेल एक लाख १० हजार र पेट्रोल ४३ हजार किलोलिटरको हाराहारीमा खपत हुने निगमको अनुमान छ ।

यसैबीच, आपूर्ति मन्त्रालयले निर्वाचनको समयमा इन्धनको आपूर्ति सहज बनाउन निगमलाई निर्देशन दिएको छ । सोहीअनुरुप निगमले आपूर्ति बढाएको छ भने भण्डारण क्षमतालाई पनि चुस्त बनाउन लागेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्