Logo

ट्राफिक कार्यालय भवनको शिलान्यास



भक्तपुर, ३० कात्तिक (रासस) : सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज यहाँ सो भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
उक्त भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल रू एक करोड ४१ लाख ८८ हजार ६५० को लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताउनुभयो ।
उहाँले यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गर्दा सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको चर्चा गर्दै यो कार्यालय भवन निर्माण पछि सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा सञ्चालन गर्न सुझाव दिनुभयो ।

भवन निर्माण समितिका संयोजक एवं ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेतुले कटुञ्जेको कित्ता नं २३३३ रहेको १३ आना क्षेत्रफलमा आगामी एक वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

आफ्नै संयोजनमा कोटेश्वर, दरबारमार्ग कालीमाटी र सातदोबाटोमा ट्राफिक प्रहरी कार्यालय भवन निर्माण भइसकेको चर्चा गर्दै उहाँले भक्तपुरको भवन पनि निर्धारित समयमै सम्पन्न हुनेमा जोड दिनुभयो । संयोजक हाछेतुले भवन निर्माणमा सहयोग गर्न दातालाई आग्रह गर्नुभयो । (तस्वीर उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्