Logo

जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा



जाजरकोट, १ मंसिर (रासस): कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ ।

दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो ।

तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक÷अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाउनुभएको थियो । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ÷गाउँमा भोट माग्दै हुनुहुन्छ ।

पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उहाँले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहनुभएको छ । “हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ” सिंहले भन्नुभयो ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउनुहुन्छ । “राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो,” उहाँले भन्नुभयो, “राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।”

वाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधिसभा र क्षेत्र नं १ मा(माओवादी केन्द्र)को भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्