Logo

संविधानको सीमा र मर्यादालाई ख्याल गर्नुपर्छ : कानून व्यवसायी



भद्रपुर, २ मंसिर (रासस)  : संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा झापाका कानून व्यवसायीले जोड दिएका छन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको शुक्रबार चन्द्रगढीमा सम्पन्न भेलामा अधिकांश कानून व्यवसायीले संविधानको मर्म र भावना अनुरुप मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्न लोकतान्त्रिक गठबन्धनलाई आग्रह गर्नुभयो ।

झापाका वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले लोकतान्त्रिक गठबन्धनका नेता शेरबहादुर देउवाले चुनावीसभामा बोलेको भनाई नेपालको संविधानको भाग ३१ को धारा २७४ को उपधारा १ को प्रतिकूल हुने गरी भएको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले वाम गठबन्धनले चुनाव जिते एकदलीय तानाशाह आउन सक्ने अभिव्यक्ति दिएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका लोकतान्त्रिक गठबन्धनका नेता देउवाले संविधानकै भावनाको प्रतिकूल हुने गरी दिएको अभिव्यक्ति आफँैमा नसुहाउने अर्का वरिष्ठ अधिवक्ता टंक उप्रेतीले बताउनुभयो ।

भेलामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन र आरपीएलएमा आबद्ध कानून व्यवसायी वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, गजेन्द्र आचार्य, नारायण भट्टराई र अधिवक्ता कालीप्रसाद सञ्जेललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम संगठनका अध्यक्ष टंक दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्