Logo

अस्वस्थ प्रकाश दाहालको निधन निवासमै, मृत्युको कारण अझै खुलेन



आमा सीताले ओछ्यानमा भेट्दा नै जीवनको संकेत थिएन

मंसिर ३, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५ः५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५ः५९ मिनेटमा मृत घोषणा गरेका थिए ।

मृत्युको कारण खुलाइएको छैन । प्रकाशलाई बिहान साढे ५ बजे उनका दुई सहयोगीले अस्पताल ल्याइर्पुयाएको अस्पतालले जनाएको छ ।
तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन् । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।
सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।

खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको बताइएको छ ।

प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।
छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार–हतार सहयोगिलाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा र्पुयाउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्