Logo

हिमाली गाउँको माग सडक, विद्युत्, टेलिफोन र स्वास्थ्य



कुमार चौलागाईं : गुम्बा, सिन्धुपाल्चोक, ३ मंसिर : सिन्धुपाल्चोकको विकट हिमाली गाउँका बासिन्दाले विगतमा निर्वाचन जितेर गएकाहरूले विकासका कुनै काम गर्न नसकेको गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका (साविक गोल्चे, गुम्बा, पाङताङ, सेलाङ र हगाम गाविस)का बासिन्दाले वर्षांैदेखि मोटरबाटो, स्वास्थ्य, शिक्षा र टेलिफोन सेवा विस्तारको माग गरे पनि कुनै पनि जनप्रतिनिधिले उनीहरुका माग पूरा गर्न सकेका छैनन् ।

निर्वाचनका बेला मात्रै आफूले नेताका मुख देख्न पाएको गुनासो गर्दै उनीहरूले अबको निर्वाचनमा पनि दलका प्रतिद्धता भाषणमै सीमित हुने त होला भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अति विकट र पैदल यात्रासमेत गर्न कठिन हुने जुगल गाउँपालिकाका स्थानीयवासी छिरिङ तामाङले भन्नुभयो, “हामीले विगतमा यो क्षेत्रका उम्मेदवार माओवादी नेता अग्नि सापकोटालाई दुईपटक जितायौँ तर विकाका कामले गति लिएन ।”

सापकोटा मात्र होइन विसं २०५६ मा नेकपा (एमाले)का सुवास कर्माचार्यले पनि यसै क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । “त्यतिखेर एमालेका नेताको कुरा पत्याउँदै आफूहरूले मत दिएर जिताएको नेताले विकासको कुनै योजना दिन नसकेको गोल्चेका गौरव श्रेष्ठले गुनासो गर्नुभयो ।

विनाशकारी भूकम्पको पीडा अझै पनि खपिनसक्नु अवस्थामा रहेको यस ठाउँका बासिन्दा अझै शीत चुहिने टहरोमै छन् । विनाशकारी भूकम्पपछिको पीडा र विकासका हिसाबले पछि परेको पारीगाउँ उपनामले चिनिने यस ठाउँका बासिन्दा यसपालिको निर्वाचनपछि भने गाउँको विकास होला भन्ने आशामा छन् ।

गाउँमा अहिलेसम्म मोटरबाटो छैन, शिक्षाको अवस्था पनि दयनीय नै छ, सञ्चार सुविधाको पहँुचबाट बाहिर बसेको तेम्बाथान, हगमा, पाङताङ र गोल्चेका बासिन्दाको े सिंगो पीडालाई कसले सुन्ने – स्थानीय छिरिङ तामाङको दुखेसो थियो ।

चुनाव जितेर नेता शहर पसेपछि अर्को चुनावमा मात्र गाउँ आएको विगत रहेको बताउँदै गुम्बाका कर्मा तामाङले भन्नुभयो, “यसपाला जसले जिते पनि गाउँमा विकास देख्न पाएहुन्थ्यो ।”

ती ठाउँका स्थानीयले अझैसमेत गाउँघरमा बसेर मोबाइलबाट गाउँ बाहिर पुगेका आफन्तसँग कुरा गर्न पाएका छैनन् ।

पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक साता मात्रै बाँकी रहँदा उक्त गाउँमा भोट माग्न पुगेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेत र वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटाले आफू विजयी भएमा यस विकट बस्तीमा विकासको लहर ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उम्मेदवारका प्रतिबद्धतासंगै यस ठाउँका मतदाताले समेत यो विकट बस्तीका लागि छिटो विकासका पूर्वाधार निर्माण गर्नेलाई मत दिने बताएका छन् ।

प्रतिनिधिसभा १ का वाम गठबन्धनका उम्मेदवार सापकोटाको निर्वाचनको मुख्य मुद्दा सडक हो । सडक, फोन सेवा, स्वास्थ्य क्षेत्रलाई प्रथाकिमता दिइने मुद्दा लिएर मतदातासामु पुग्नुभएका सापकोटालाई विगतमा यस ठाउँबाट दुईपटक विजय हुँदा विकासको कामलाई प्रथामिकता दिन नसकेको आरोप छ ।

यस्तै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका सञ्चारमन्त्री बस्नेतले ‘बलेफी जलबिरे हुँदै गुम्बा गाविसको तेम्बाथान सडक तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वाम उम्मेदवार सापकोटाले भन्नुभयो, “गुम्बाको तेम्बाथान हिमालको काखबाट चीन र नेपालको सीमा क्षेत्रसमेत देखिने तेम्बा थानलाई विकास गर्नसक्ने नेता चाहिएको छ, त्यो भनेको मै हुँ ।”

“सडकसँगै स्वास्थ्य, शिक्षा, विद्युत् र टोलिफोन सेवा विस्तारका कामलाई निर्वाचनलगत्तै शुरु गरिनेछ ।” उहाँले भन्नुभयो, “निर्वाचन जितियोस् या हारियोस् आगामी पाँच वषसम्म यो सडक निर्माण कार्य पूरा गर्न सकिनँ भने म अर्काे निर्वाचनमा भोट माग्न आउँदिन ।”

निर्वाचन आउँदा मत माग्न सलबलाउने र विकासको काममा जनता झुक्याउने दलका प्रवृत्तिबाट आजित बनेका पारिगाउँका जनता निर्वाचन जित्न मीठो र नरम भाषा प्रयोग गर्ने राजनीतिक दलको भाषण सुन्नमै व्यस्त छन् आजभोलि ।“निर्वाचनका मौकामा नेताले आफ्ना कुरा सुन्ने आशा गाउम्बासीमा छ”– गोल्चेका दोर्जे तामाङले भन्नुभयो ।

यही मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक– १ बाट वाम गठबन्धनबाट सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट बस्नेत चुनावी मैदानमा हुनुहुन्छ भने प्रदेशसभामा वाम गठबन्धनबाट अरुण नेपाल र सरेश नेपाल तथा लोकतान्त्रिक गठबन्धनबाट विष्णु खत्री र राजेन्द्रकुमार क्षेत्र चुनावी प्रतिष्र्धामा हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्