Logo

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै



हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ ।

उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उहाँ क्युबा जान लागेको बताइएको छ ।

क्युबाको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उहाँ सोमबारै अपरान्ह क्युबाको राजधानी हवाना पुग्न लाग्नुभएको समाचारमा जनाइएको छ ।

सो भ्रमणका क्रममा उहाँले क्युबाली आफ्ना समकक्षी बुर्नाे रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । उहाँ क्युबामा दुई दिनसम्म बस्नुहुने छ । त्यस क्रममा उहाँ हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुने छ ।

प्राप्त पछिल्लो समाचारअनुसार उहाँको सो भ्रमण यस्तो समयमा भएको छ जुन समयमा अर्थात हालैका दिनहरुमा उत्तर कोरिया र क्युबासँग नै अमेरिकाको सम्बन्ध विग्रिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ ।

उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको छ ।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन कडा रुपमा प्रस्तुत हुने गरेको छ । यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन ।

त्यसैगरी क्युबासँग अमेरिकाको झण्डै आधा शताब्दि लामो समयदेखि सम्बन्ध विग्रिएको थियो । त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो ।

तर ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन । अहिले अमेरिकीहरु क्युबा जाँदा पनि सरकारको अनुमति लिएर जानुपर्दछ भने अमेरिकीले क्युबामा गएर वा क्युबालीले अमेरिकामा आएर ब्यापार व्यवसाय गर्न नपाउने नयाँ व्यवस्था लागू गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्