Logo

सिन्धुपाल्चोकका उम्मेदवारको हतियार तातोपानी नाका, आश्वासनको पोका बाँड्दै गाउँगाउँमा



५ मंसिर, काठमाण्डौ । सिन्धुपाल्चोकका उम्मेदवाहरुले चिनसँगको तातोपानी नाका खुलाउनका लागि पहल गरिने प्रतिवद्धता जनतामाझ गरेका छन् ।
वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेता अग्निप्रसाद सापकोटा र २ मा एमाले नेता शेरबहादुर केसीलाई मैदानमा उतारेको छ । क्षेत्र नं. १ को दुवै प्रदेशसभा एमाले र २ को दुबै प्रदेश माओवादीले लिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । क्षेत्र नं. २ मा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेरलाई सघाउँदा बाँकी सबै ठाउँमा उसले कांग्रेसलाई भोट हाल्न सहमति छ ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफूले चुनाव जिते तातोपानी नाका खुलाउने आश्वासन दिएका छन् भने वाम गठबन्धनका उम्मेदवारले एमाले–माओवादीको सरकार गठनभएको २ दिनभित्र नाका खुलाउने दाबी समेत गर्न भ्याएका छन् ।

लोकतान्त्रिक गठबन्धनका नेताहरुले चिनको असहयोगका कारण नाका खोल्न नसकिएको बताउँदै चुनाव जितेपछि पहल गर्ने बताएका हुन् । वामपन्थीहरुले भने आफूहरु सरकारमा नगएसम्म नाका नखुल्ने प्रचार गरेका छन् ।

सिन्धुपाल्चोकका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन बहादुर बस्नेतले चुनाव जिते लगत्तै कुटनीतिक पहलमार्फत नाका खुलाउने आश्वासन दिएका छन् भने बस्नेतका प्रतिस्पर्धी तथा वाम गठबन्धनका उम्मेदवार अग्नी सापकोटाले वामपन्थी सरकार गठन भएको तीन महिनाभित्रमा नाका खुलाउने दाबी गरेका छन् ।

 

यस्तै सोही जिल्लाका अर्का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपतिशमशेर राणाले चिनले नाका खोल्न नचाहेका कारण बन्द हुन पुगेको बताउँदै बारम्बार आग्रह गर्दा पनि नाका खुलाउन नसकिएको बताए । उनले नाका खुलाउनका लागि आफूले पहल जारी राखेकोसमेत जानकारी दिए । यता राणाका प्रतिस्पर्धी शेरबहादुर केसीले भने केपी ओली प्रधानमन्त्री भएको भोलीपल्टै तातोपानी नाका खुलाउने प्रचार गरिरहेका छन् ।

जनतामाझ चुनावी एजेण्डा र आश्वासनको पोको बोकेर घर दैलो गरिरहेका उम्मेदवाहरुले अन्य विभिन्न विकासका एजेण्डा अघि सारेका छन् । राणाले विगतमा आफूले जति विकासका काम अरु कसैले गर्न नसकेको दाबी गर्दै जनता फकाउने प्रयास गरिरहेका छन् भने उनका प्रतिस्पर्धी केसीले राणाको दाबी झुटो भएको भन्दै केही काम नगरेको आरोप लगाएका छन् ।

त्यसैगरी अर्का उम्मेदवार बस्नेतले अरु नेताहरुको तुलनामा आफूले १० गुणा बढि काम गरेको दाबी गर्दै आएका छन् । तर उनका प्रतिस्पर्धी सापकोटाले भने बस्नेतले गफ मात्रै लगाएको तर काम केही नगरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्