Logo

एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया अघि बढिसक्यो, अब कसैले रोक्न सक्दैन् : पम्फा भुषाल



‘वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ र ५ वर्ष शासन गर्छ’
ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनकी उम्मेद्धवार एवम् नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाालले अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई मत हाँसिल गर्ने दाबी गरेकी छिन् । उनले भनिन्,‘हाम्रो लक्ष्य नै दुई तिहाई हो, देशमा ६५ प्रतिशत भोटहरु वामपन्थीहरु हुन्, त्यसैले हाम्रो गठबन्धनले दुई तिहाई आउँछ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले ललितपुरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई मत ल्याउने र सरकार बनाउने दाबी गरेकी हुन् । उनले भनिन्,‘हाम्रो वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ, र स्थिर सरकार बनाउँछ, अब बन्ने सरकारले पाँच वर्ष ढुक्कसँग शासन गर्छ, यसमा कुनै दुई मत छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अघि बढिसकेकोले अब कुनै हालतमा एकता प्रक्रिया नभाँडिने जिकिर गरिन् । उनले भनिन्,‘एक सय एक प्रतिशत पार्टी एकता हुन्छ, प्रक्रिया अघि बढिरहेको छ ।’

नेपालमा जनताले कम्युनिष्टहरुलाई औधी माया गरेको भन्दै अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई मत पाउनेमा कुनै शंका नभएको तर्क गरिनन् । उनले थपिन्,‘हाम्रो देशमा ६५ प्रतिशत वामपन्थीहरु छन्, त्यसैले मत हामीलाई आउँछ, दुई तिहाईको मत ल्याउन कसैले रोक्न सक्दैन, अहिले नै त्यो आभाष हामीलाई भैसकेको छ।’ संविधान कार्यान्वयन गर्दै मुलुकमा आर्थिक समृद्धि कायम गर्ने आफूहरुको लक्ष्य भएको समेत उनले सनाईन् ।

राजनीतिक स्थायित्व कायम गर्न र जनतालाई एकताको सुत्रमा बाँध्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफूहरुको माँग भएको समेत भुषालले सुनाईन् । ‘बलियो र पाँच वर्ष टिक्ने सरकार चाहिन्छ, राष्ट्रपति सिष्टम अहिलेपनि सेरोमोनियल छ, अब देशैभरिका जनताले मत हालेर चुन्ने, हाम्रो मुल मर्म भनेको स्थिरता हो । हो, त्यसकै लागि हामीले यो प्रणालीको कुरा गरेका हौं–उनले थपिन्।

संविधान कुनै जड बस्तु नभएको उल्लेख गर्दै समय र परिस्थित अनुसार जनताको हितमा संशोधन गर्न सकिने उनको भनाई थियो । उनले भनिन्,‘त्यो पनि हामी गर्छौं । आरामदायी बहुमत आयो भने जनता र राष्टको पक्षमा काम गर्न सक्छौं ।’

नेपालको संविधानले नै नेपालको समाज समाजवाद उन्मुख भएको भनेर परिकल्पना गरिसकेकोले अब मुलुकमा सामाजिक न्याय, आर्थिक समृद्धिका साथ आफूहरु अघि बढ्ने धारणा राखिन् । उनले भनिन्,‘हाम्रा छिमेकीहरुले धेरै वर्ष लगाएर गरेको विकास हामी धेरै चाँडो गरेर विश्वलाई नै एउटा नमूना दिन चाहन्छौं, त्यसको लागि स्थिर र दिगो सरकार चाहिन्छ, त्यो अब निर्वाचनपछि बन्छ।’

चुनावपछि बन्ने वामपन्थीहरुको सरकारले मुलुकमा देखा परेका सानातिना समस्याहरुको सम्बोधन गर्नको लागि संविधान संशोधन पनि गर्न सक्ने उनको भनाई थियो । उनले भने,‘संविधान अपरिवर्तनीय कुरा होईन, यो हुन सक्छ, मधेशी, जनजाति, आदिवासीको लागि हामी संशोधन गर्न सक्छौं ।’

त्यस्तै उनले ललितपुरलाई स्मार्ट, विकसित, समृद्धशील शहर बनाउने आफूहरुको योजना रहेको समेत सुनाईन् ।

उनले आफ्नो चुनावी एजेण्डा पनि केन्द्रकै जस्तो भएको सुनाईन् । उनले थपिन्,‘ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण छ, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छु । बाटोघाटो, धुलो, समस्या समाधान गर्छु, कालो पत्थर गर्छु । हरियाली बनाउने कुरा, नदि किनारहरुमा कोरिडोर खोल्ने कुरा जो छ, म गरेर देखाउँछु, हरियाली बनाउने कुरा, युवा जनशक्तिलाई पर्याप्त विकास हुन्छ।’

उनले ललितपुरमा खेलकुदका राम्रा क्लबहरु भएकोले यसलाई ठूलो साधन सम्पन्न क्लब बनाउने र महिला, जेष्ठ र युवाहरु सबैको हितमा काम गर्ने विश्वास दिलाईन् ।

ललितपुरमा देखिएको टा«फिक अस्तव्यस्तलाई चुस्त दुरुस्त बनाउनेगर आवश्यक पर्नेगरि विकास गर्ने समेत धारणा उनले सार्वजनिक गरिन् । उनले भनिन्,‘टा«फिक प्रणालीलाई आधुनिक विकास गर्ने, फ्लाईओभर, टनेल बनाउने, ठूला यातायातको साधान बनाउने मेरो योजना छ।’

भुसालले आफूलाई ललितपुरवासीले विकासकर्मीको रुपमा समेत बुझ्ने गरेको उल्लेख गरिन् । उनले थपिन्,‘ललितपुरलाई पर्यटन जोन र मुलुकै साँस्कृकित राजधानी बनाउने मेरो लक्ष्य हो। त्यो संभव छ।’ उनले आफूले उक्त क्षेत्रमा अध्यधिक मतले चुनाव जित्ने समेत विश्वास दिलाईन् ।



प्रतिक्रिया दिनुहोस्