Logo

प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन ओलीको आग्रह



चितवन, ५ मंसिर (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो ।

वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो, “वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उहाँले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “तमसुक गरेर सरकार चलाउने समय अब गयो ।” निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उहाँले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताउनुभयो ।

अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उहाँले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गर्नुभयो ।

उहाँले वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उहाँले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताउनुभयो ।

कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो खण्डमा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । निकै पीडामा देखिनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोल्नुभएन ।

कार्यक्रममा दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्