Logo

राष्ट्रिय सुरक्षा परिषद्को बैठक: बम विस्फोट गराउनेलाई कानुनी कारबाहीको दायरामा ल्याइने



काठमाडौँ, ५ मंसिर (रासस) : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेद्वारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको हो ।

बैठकले शान्ति सुरक्षालाई चुस्त–दुरुस्त बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखले पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको सुरक्षा रणनीतिका विषयमा जानकारी गराउनुभएको परिषद् स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्