Logo

कथा र चुट्किलाले अब देश चल्दैन, हामी आर्थिक विकास गछौँ : सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी



जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरेको छ । यस पार्टीले स्थानीय निकायको चुनावमा पनि सहभागिता जनाएको थियो । नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि गर्न नसकेको भन्दै यो पार्टीको गठन गरिएको हो । पार्टीले देशमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन जनताले अनुभव गर्ने गरी कृषि, पर्यटन र ऊर्जा शक्तिको उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
कुल ६५ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको र सात प्रदेशका सात उपाध्यक्ष, एक महासचिवलगायत सबैको जिम्मेवारी पनि तोकिसकेको छ । चुनावका लागि नेकपा मालेसँग गठबन्धन गरेको जनसमाजवादी पार्टीले यस पटकको चुनावमा राष्ट्रिय दल बन्ने दाबी गरेको छ ।
यस पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ करिब २० जिल्लामा उम्मदेवार बनाएको छ । त्यसैगरी समानुपातिकमा पनि उम्मेदवारको बन्द सुचि पेश गरेको छ । यसै पार्टीका केन्द्रिय अध्यक्ष सुवासराज काफ्लेसँग अन्तरवार्ता लिइएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

जनसमाजवादी पार्टी र नेकपा मालेबिचमा चुनावी तालमेल किन भयो ? सिपी मैनालीसँग किन पछि लाग्नुभयो ?
सिपी मैनालीसँग पछि लागेको होइन । चुनावी गठबन्धन गरिएको हो । चुनावका बेला राजनीतिक दलहरुबिचको गठबन्धन जरुरी हुन भएकाले हामीले पनि मालेसँग गठबन्धन गरेका हौँ ।

जनसमाजवादी पार्टी किन र केका लागि गठन गरिएको हो ?
मुलुकमा जस्तो खालको काम गर्नुपथ्र्यो, त्यो काम ठूला भनिएका दलहरुले गरेनन् । मुलुकलाई यथास्थितीमा कहिलेसम्म राख्ने ? यस्तो अवस्था हेर्न नसकेकाले पार्टी गठन गरेर काम गर्न खोजेका छौँ ।

काम गर्न भनेर पार्टी खोलिन्छन्, तर नेपालमा कम्युनिष्ट पार्टी किन यति धेरै चाहियो ?
धेरै चाहिएको होइन । अहिले नेपालमा कम्युनिष्ट पार्टी थोरै भइसके । हाम्रो लक्ष्य चाँही सशक्त ढंगले देशको विकास लाग्ने हो । विसंगति र विकृतिलाई टुङ्ग्याएर देशलाई विकास गर्ने हो । छोटो समयमा नै नेपालको समृद्धिका लागि हामीले दल बनाएका हौँ ।

ठूला कम्युनिष्ट दलहरु एक भएको अवस्थामा तपाई सिपी मैनालीसँग किन गठबन्धन गर्नुभयो ?
ठूला पार्टीहरुको अहिलेको रवैया र तरिकाहरु त्यति शसक्त छैन । आफ्नै व्यक्तिगत, पारिवारिक र पार्टीगत स्वार्थबाट माथि उठ्न सकेका छैनन् । देशको स्वार्थका लागि हामीले पार्टी गठन र मालेसँग तालमेल गरेका हौँ । कथा र चुट्किलाले अब देश चल्दैन । हामीहरुले काम गर्नका लागि पार्टी गठन गरेका हौँ । हामीले आर्थिक समृद्धिको खाका स्पष्ट रुपमा कोर्नुपर्छ । हामीले ५ वर्षमा यो देशलाई परिवर्तन गरेर देखाउँछौँ । विचार र सिद्धान्त मिलेकाले मालेसँग गठबन्धन गरिएको हो ।

तपाईको पार्टीले कसरी देशलाई विकसित बनाउँछ ?
नेपालको समृद्धिको आधार हामीले दिएका छौँ । स्टार मोडेल भनेर हामीले नयाँ सङ्कल्प गरेका छौँ । नेपालको समृद्धिको लागि स्टार मोडेललाई अगाडि बढाउनुपर्छ । ४,५ वर्षभित्रमा नै मुलुक समृद्धिको दिशातर्फ जान सक्छ । यो कुरा हामीले जनतालाई बुझाउँदै छौँ ।

अब जनताहरु झुटा आश्वासन पत्याउनेवाला छैनन् । चुनावका बेला मात्र विकासका कुरा गर्छन् भन्ने आरोप जनताको छ नि?
हामीले स्टार मोडेललाई समृद्धिको खाका भनेर जुन ल्याएका छौँ, यो चुनावका लागि ल्याएका होइनौँ । हामीले पार्टी सुरु गर्दैमा विकासको खाका बनाएका थियौँ । देशलाई परिवर्तन गर्ने भनेर प्रष्ट रुपमा कुरा गरेका छौँ ।

तपाई प्रतिनिधीसभातर्फ समानुपातिक उम्मेदवार बन्नुभएको छ । सिपी मैनाली पनि सँगै हुनुहुन्छ ? जनताले कसका लागि भोट हाल्ने ?
जनताले हाम्रा समानुपातिक उम्मेदवाहरुका लागि मतदान गर्नुहुनेछ ।

एक सिट जित्ने आधार पनि छैन नि ?
जित हार त स्विकार गर्नुपर्छ । चुनावको खेल भनेको हारजितकै हो । तर हामी जित्ने प्रयत्नमा छौँ । जनतालाई बुझाउने प्रयासमा छौँ ।



प्रतिक्रिया दिनुहोस्