Logo

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन



भक्तपुर, ६ मंसिर (रासस) : भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र निर्माण भएको हो ।

लिवाली गणेश भूकम्पपीडित पुनःस्थापना केन्द्रको बासिन्दाका लागि निर्माण गरेको आकाशे पानी संकलन गर्न उक्त संस्थाले रु १७ लाख चार हजार ३७० सहयोग उपलब्ध गराएको थियो ।

अकाशे पानी संकलनका लागि स्थानीयले रु आठ लाख व्यहोरेको केन्द्रका अध्यक्ष नारायणप्रसाद खाइतुले बताउनुभयो । त्यस्तै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको रु सात लाख ५० हजारको सहयोगमा पानीलाई शुद्धीकरण गरेर पिउन योग्न बनाउन दुईवटा फिल्टर प्लान्ट जडान गरेको बोर्डका निर्देशक राजीव जोशीले जानकारी दिनुभयो ।

प्राप्त रकमबाट एक लाख लिटरको ट्याङ्की तथा इनार निर्माण गरेर भूकम्पपीडित बस्तीका ३० वटा टहराको छानोबाट आउने आकाशे पानीलाई संकलन गरी ट्याङ्कीमा पानी जम्मा गर्ने र पानी नपर्ने मौसममा बस्तीमा रहेको इनारको पानी तानेर ट्याङ्कीमा जम्मा गरी बस्तीमा दैनिक खानेपानी वितरण गर्ने व्यवस्था गरिएकोे गुठीका संयोजक प्रकाश अमात्यले बताउनुभयो ।

बस्तीमा तीन वटा धारो राखिएको छ भने यहाँको पानीले भूकम्पपीडित बस्तीको ६० घर परिवार र स्थानीय ९० घरपरिवार गरी १५० घरपरिवार लाभान्वित भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त प्रणालीको मंगलबार शुभारम्भ गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्