Logo

आजैदेखि मौन अवधि सुरु : सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक



७ मंसिर, काठमाण्डौ । १० गते हुने चुनावका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ ।

मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।

मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।

पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार–प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने आयोगले जानकारी गराएको छ ।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot