७ मंसिर, काठमाण्डौ । मधेश केन्द्रित दलहरु एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई–मधेशलाई छुट्टै देशको रुपमा व्याख्या गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्रमा राजपाले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या गरेको छ ।
घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै देश रहेको राजापले उल्लेख गरेका छ । राजपाले एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएपनि सधै व्यवहारिक नहुने व्याख्या गर्दै दक्षिणतिरको समथर भूमीलाई छुट्टै देशको रुपमा चित्रण गरेको छ ।
विश्वका अन्य राष्ट्रहरुसँग तुलना गर्दै राजापाले तराई—मधेसलाई छुट्टै देशको रुपमा व्याख्या गर्ने विवादस्पद दृष्टिकोण घोषणापत्रमा ल्याएको हो ।
जापान, स्वीडेन, दि नेदरल्यान्ड्स एक राज्य र एक राष्ट्र भएका अन्यन्तै थोरै मुलुकहरुमध्ये हुन् । तर, अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनिगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन भन्दै राजापाले भनेको छ,‘यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो ।’
‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको छ । त्यस्तै भारतको दार्जिलिंग, सिक्किम, आसम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी सँस्कृती, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ,‘राजापाको घोषणापत्रको प्रस्तावनामा उल्लेख छ, ‘यसैगरीकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शत प्रतिशत नेपाली हुन तर ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि हो । जसको निश्चित भुगोल, समान जीवन पद्दति, सँस्कृति, सभ्यता एवं मनोविज्ञान छ । यो भारत, मरिसस र अन्य देशका समुदायहरुसँग मेल खान पनि सक्छ ।’
पार्टीले घोषणापत्र बनाउने जिम्मेवारी राजपा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले पार्टीभित्र छलफल नै नगरी मधेसलाई छुट्टै देशको रुपमा लिनुपर्ने धारणा घोषणापत्रमा ल्याएको प्रति पार्टीकौ नेतृत्वपंक्ति असन्तुष्ट भएको छ ।
पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञवल्क्य मैत्रियी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्र भएको राजपाको घोषणापत्रमा उल्लेख छ ।
जातीय विविधता एवं भौगोलिक र अन्य तरिकाले फरक हुन गएका राष्ट्रहरुलाई एउटै राज्यमा समाहित र आत्मसाथ गर्ने लोकतान्त्रिक राजनीतिक शासन निर्माण नै आदर्शवादी राजनीतिक चिन्तकहरुका लागि ठूलो चुनौती भएको भन्दै राजपाले भनेको छ, नेपाल निकै लामो समयदेखि यस्तै चुनौतीको सामना गर्दै आएको मुलुक हो ।’
सबै नागरिकले समानता महसुस गर्दा मात्रै एउटा राज्य–राष्ट्र निर्माण प्रारम्भ हुने र यसको प्रस्थानविन्दु लोकतन्त्र र चुनौती विदेभ भएको राजपाको विश्लेषण छ ।
महोत्तरीको जलेश्वरमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्, जसको प्रस्तावनामा नै नेपाललाई ‘बहुराष्ट्रिय’ देश भनिएको छ ।