कालिका खड्का : ओखलढुंगा, ७ मंसिर (रासस) ः ‘मेरो प्यारो ओखलढुंगा’ युगकवि सिद्धिचरण श्रेष्ठको निकै चर्चित कविता हो । कवि श्रेष्ठले भनेजस्तै सुन्दर पर्यटकीय नगरी बनाउनका लागि ओखलढुंगामा अहिले सिद्धिचरण सङ्ग्रहालय निर्माण भइरहेको छ ।
पञ्चवर्षीय योजनाअनुसार निर्माण कार्य शुरु भएको उक्त सङ्ग्रहालयको पहिलो तला निर्माण पूरा भइसकेको छ । सिद्धिचरण सङ्ग्रहालय समितिका सचिव धु्रवकुमार राजभण्डारीका अनुसार सङ्ग्रहालय निर्माण गर्न गत आवमा पर्यटन बोर्डबाट रु २० लाख प्राप्त भएको थियो । चालु आवमा बोर्डले रु २० लाख विनियोजन गरेको छ ।
“सिद्धिचरणले ओखलढुंगालाई चिनाउन जुन योगदान दिनुभयो, सोहीअनुरुप उहाँले प्रयोग गर्नुभएका सामग्री सङ्ग्रहालयमा राखिनेछ, पर्यटकका लागि अध्ययन गर्न लाभदायक हुन्छ”, सचिव राजभण्डारीले भन्नुभयो ।
सिद्धिचरण सङ्ग्रहालय र सिद्धिचरण पार्क निर्माणका लागि पञ्चवर्षीय योजनाअनुसार रु तीन करोड खर्च लाग्नेछ । पुरातत्व विभागको प्राविधिक टोली आएर अध्ययन गरी थप निर्माण छिट्टै नै ठेक्कामार्फत अघि बढाइने छ ।
युगकवि श्रेष्ठको जन्म भएको ठाउँमा उहाँको सालिक निर्माण गरिएको छ । सालिकसँगै सङ्ग्रहालय र पार्क बनेपछि पर्यटकका लागि आकर्षक केन्द्रका रुपमा विकास हुनेछ । सदरमुकाममा सिद्धिचरणकै नामबाट सिद्धिचरण नगरपालिका राखिएको छ ।
स्रष्टा पार्क निर्माण अन्तिम चरणमा
युगकवि श्रेष्ठको सङ्ग्रहालय अगाडि चार स्रष्टाको सम्मानस्वरुप ‘स्रष्टा पार्क’ निर्माण गरिएको हो । सो पार्कमा सालिक राख्न युगकवि श्रेष्ठ, रुम्जाटारमा जन्मनुभएकी नेपालकै पहिलो गायिका मेलवादेवी, चर्चित लोकगायक पाण्डव सुनुवार र नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला (प्रदीपकुमार राई)को प्रतिमा तयार भइरहेको छ ।
स्रष्टा पार्क निर्माण समितिका अध्यक्ष धु्रवकुमार राजभण्डारीले शुरुमा चार स्रष्टाको प्रतिमा राख्ने तयारी रहेको बताउनुभयो । सो स्थानमा गायक रामेश श्रेष्ठको समेत प्रतिमा राख्ने तयारी छ ।
स्रष्टा पार्क निर्माणका लागि तत्कालीन क्षेत्र नं १ का सांसद तथा हाल प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा गरी रु ५५ लाख सांसद कोषको रकम प्रदान गर्नुभएको थियो ।
अध्यक्ष राजभण्डारीले भन्नुभयो, “सदरमुकाम बजार छेउमा स्रष्टालाई सम्मानका साथै पर्यटकीय दृष्टिकोणले पनि घुम्न जाने र केही समय बिताउन सुन्दर स्थल बन्छ ।”
यसरी रह्यो ओखलढुंगा नाम
पूर्वाञ्चलको सगरमाथा अञ्चलमा पर्ने ओखलढुंगा पहाडी जिल्ला हो । ओखलढुंगा प्राचीनकालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो ।
महाभारतकालमा भीम मल्लले ओखलजस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहन गएको भन्ने भनाइ पनि छ । ओखलढुंगाको इतिहासबारे जानकार स्थानीय अगुवा युवराज दाहालका अनुसार करिब ४०० वर्षअगाडि काजी भीम मल्ल चीनबाट आफ्ना फौजसहित नेपाल आउनुभएको थियो । गाउँबाट धान उठाएर ल्याएको र कुटेर खान नपाएको हुनाले त्यही ठाउँमा धान कुटेर खाएको सम्झनामा भीम मल्लले नै ओखलढुंगा नामाकरण गर्नुभएको हो ।
उक्त ढुंगाको ओखल हालको ओखलढुंगा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका–५ मा अवस्थित सिद्धिचरण पार्कसँगै सुरक्षित रूपमा राखिएको छ । कवि सिद्धिचरणको कविता पढनेहरु निकै उत्कुस भएर ओखलढुंगा आउने गर्दछन् । साहित्यको उर्वर भूमि ओखलढुंगाका मुख्य शहर ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभञ्ज्याङ, कोशहाट, घोराखोरी आदि हुन् ।
जाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको विशेषता बोकेको ओखलढुंगा सांस्कृतिक रुपमा सम्पन्न छ । यहाँ क्षेत्री, ब्राह्मण, राई, सुनुवार, तामाङ, शेर्पा, नेवार, गुरुङ, विश्वकर्मा, परियार लगायतका जाति मिलेर बसेका छन् ।
प्रमुख धार्मिक क्षेत्रहरू चम्पादेवीको मन्दिर, कालिकादेवीको मन्दिर, तीनकन्या देवीको मन्दिर, सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, महादेवको मन्दिर र कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान रहेका छन् ।
त्यस्तै, ओखलढुंगा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भीमसेनस्थान, वटुकभैरव, गणेश मन्दिर थाक्ले र मानेभञ्ज्याङको सिमानामा रहेको किरातेश्वर झाँक्री गुफा आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्र हुन् ।
ओखलढुंगाको प्रमुख पर्यटकीयस्थल पोकलीमा रहेको पोकली झरना, थामडाँडा र लगलगेडाँडा (दृश्यावलोकनका लागि), सिद्धिचरण नगरपालिकामा पर्ने ऐतिहासिक ओखल आकारको ढुंगा (ओखलढुंगा), युगकवि श्रेष्ठको जन्मस्थल (सिध्दिचरण पार्क), रुम्जाटार (राडीपाखी, भेडापालन, गुरुङ संस्कृति र विमानस्थलका लागि प्रसिद्ध) आदि यहाँका प्रमुख पर्यटकीयस्थल हुन् ।
त्यस्तै देम्बाडाँडा पनि पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो । पोकलीबाट देम्बा हुँदै सोलुखुम्बुको पिके डाँडा जाने पदमार्ग छ । पर्यटक उक्त मार्ग भएर सगरमाथासम्म जाने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध खोटाङको हलेसी महादेव दर्शन गर्न आउनेका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल बन्न सक्छ ।
एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक नगरपालिका र सात गाउँपालिकामा छन् । कूल क्षेत्रफल एक हजार ७४ वर्ग किमी रहेको जिल्लाको जनसङ्ख्या पुरुष ६८ हजार ६८७ र महिला ७९ हजार २९७ गरी कुल एक लाख ४७ हजार ९८४ रहेको छ ।