Logo

समग्र देश निर्माणको परिकल्पना काङ्ग्रेससंग मात्र छ : युवा नेता शर्मा



काँकरभिट्टा(झापा), ७ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले काङ्ग्रेसको समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताउनुभएको छ ।

‘आज हामी गठबन्धनको नाममा विभाजित भएका छौँ’ शर्माले भन्नुभयो, ‘एक अर्कामा कित्ताकाट गरेर विभाजित हुँदा समग्र राष्ट्र निर्माणको परिकल्पना तयार हुन सकेको छैन । अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको हो । ’

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका शर्माले राजनीतिमा असल संस्कारको विकास गरेर मात्र देशले गति लिन सक्ने बताउनुभयो ।

पार्टीका प्रखर बक्ता शर्माले २०७० सालको संविधानसभाको निर्वाचनमा मतदाताको मन थोरै मतले जित्न नसकेको उल्लेख गर्दै भन्नुभयो,“ संविधान बनाउने जिम्मेवारी नपाए पनि त्यसले मलाई तपाईहरुको समीपमा रहेर निरन्तर काम गर्ने अवसर दियो । यसपटक तपाईहरुको विश्वास पाउनेमा ढुक्क छु।”

कांग्रेस केन्द्रीय सदस्य शर्माले उच्च राजनीतिक संस्कारको पनि कुरा उठाउदै आउनुभएको छ , जसमा विपक्षीको सम्मान र निर्वाचनको विजय पराजयको सहर्ष स्वीकार सहित कार्यकर्ता र मतदाताहरुको आदर पनि समाविष्ट छन् ।

कार्यक्रममा प्रदेश सभा (क) का उम्मेदवार केशवराज पाण्डेले अब देशलाई आर्थिक विकासतर्फ अगाडी बढाउनु पर्ने बताउनुभयो ।

प्रदेश सभा (ख) का उम्मेदवार अशोककुमार पोखरेलले राजनीतिमा शुद्धता नभएसम्म देशले गति लिन नसक्ने बताउनुभयो ।

बुधवार क्षेत्र नम्बर १ अन्तरगत रहेको काँकरभिट्टा, धुलावारी, साविकको ज्यामिरगढी, भद्रपुर, शान्तिनगरलगायतका क्षेत्रमा घरदैलो अभियानका साथै कोणसभामा सहभागि भएका थिए ।

क्षेत्र नं २ मा विकास र समृद्धिको मुद्दा

नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्वव थापाले लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धि अबको मुद्दा भएको बताउनु भएको छ ।

क्षेत्र नम्बर–२ अन्तरगत कन्काई नगरपालिका वडा नं.–८ को लक्ष्मिपुरमा आयोजित कोणसभामा बोल्दै उम्मेद्वार थापाले राणा शासनदेखि परिवर्तनका लागि संघर्ष गर्दै आएको कांग्रेसको अबको मुद्दा आर्थिक समृद्धिको भएको बताउँदै देश विकास र आर्थिक समृद्धिको लागि देशमा कांग्रेसको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर–२ प्रदेशसभा क्षेत्र ‘क’का उम्मेद्वार लक्ष्मण खड्काले आफ्नो क्षेत्रको आवश्यताको पहिचान गरि विकास र समृद्धिका लागि योजना आफूसंग रहेको बताउँदै त्यसका लागि भोट दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समानुपातिक उम्मेद्वार सिता पौडेल, नेत्र चिमरिया, भोजराज सिटौला, चन्द्र गिरी लगायतले बामगठबन्धनले कम्युनिष्ट निरंकुशता लाद्न खोजेको बताउँदै लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

सो अवसरमा राप्रपा वडाध्यक्ष चेतन सिटौला, स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यका उम्मेद्वार बनेका जितेन्द्र कार्की, राम कार्की, प्रसाद खड्का, राजन कट्वालसहित १०० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

वडा सभापति हरि आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दुर्गा पराजुली र सञ्चालन बीरवहादुर चौहानले गरेको प्रदीप चिमरियाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्