Logo

माओवादीको कारण शान्ति सम्झौता टुंगोमा पुगेन : मन्त्री बलायर



डोटी, ७ मंसिर (रासस भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले नेकपा (माओवादी केन्द्र)कै कारण बृहत् शान्ति सम्झौताको पूर्ण कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभएको छ ।

‘बृहत् शान्ति सम्झौता भएको एक दशक नाघिसक्दा पनि सम्झौताको मुख्य पक्षधर माओवादी केन्द्रको नेतृत्वकै कारण शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकिरहेको छैन,” नेपाली काँग्रेस डोटीको बोगटान गाउँपालिका–६ गगुडामा आयोजित चुनावी सभामा बोल्दै मन्त्री बलायरले भन्नुभयो, “मुलुक अझै द्वन्द्वको खतराबाट उम्कन सकिरहेको छैन् । अझै बम–बारुद पड्किरहेका छन् । जनता त्रासमुक्त हुन सकिरहेका छैनन् ।”

बृहत् शान्ति सम्झौताको तत्कालीन राज्यपक्ष अर्थात् नेपाली काँग्रेसले शान्ति प्रक्रियाको मर्मअनुरुप काम गरिरहेको पनि मन्त्री बलायरले बताउनुभयो । उहाँले भन्नुभयोे, “शान्ति सम्झौताको मर्मअनुरुप काँग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको छ । माओवादीलाई मूलधारमा ल्याउनका लागि काँग्रेसले धेरै कुरा गुमाएका छौँ । राज्यको ठूलै ढुकुटी रित्तिएको छ ।”

द्वन्द्वमा खल्बलिएको समाज मिलाउन र द्वन्द्वको निरुपण गर्दै दिगो शान्तिको अभियानमा काँग्रेस जुटिरहेको उहाँले बताउनुभयो । “हामी विगतका तीता घाउमा मल्हम लगाउँदै दिगो शान्ति कायम गर्ने अभियानमा छौँ । फाँटेका मन जोड्ने अभियानमा छौँ । सँगै लोतकन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेका छौँ,” मन्त्री बलायरले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्