Logo

निर्वाचन नजिकिएसँगै सप्तरीमा चुनावी गतिविधि बढ्दो



सुरेश झा : सप्तरी, ७ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी गतिविधि बढेर गएको छ ।

उम्मेदवारहरुले घरदैलो अभियानसहितका गतिविधिलाई तीव्रता दिएका छन् । सदरमुकाम राजविराज र ग्रामीण भेगमा चुनावी चहलपहल निकै बढेको छ र चुनावीसभाहरु दिनहुँ भइरहेका छन् ।

साथै, एउटा दलले अर्को दलका कार्यकर्ता तान्ने होडबाजीसमेत सप्तरीमा चलेको छ । गाउँको चौतारादेखि कृषि हाटसम्म, घरदेखि खेतसम्म चुनावकै चर्चा परिचर्चा छ । एकातिर कृषकलाई धान भित्र्याउने चटारो छ भने अर्कोतिर उम्मेदवारलाई खेतसम्म पुगेर मतदाता रिझाउन भ्याइनभ्याई छ ।

यसपालि सप्तरीमा प्रतिनिधिसभाका लागि चार तथा प्रदेशसभाका लागि आठ वटा निर्वाचन क्षेत्रहरु रहेका छन् ।

यसअघि सप्तरीमा छ वटा निर्वाचन क्षेत्र थियो । निर्वाचन क्षेत्रको आकार र जनसंख्या बढेपछि उम्मेदवारका लागि चुनावी अभियान थप खर्चिलो र चुनौतीपूर्ण बन्न पुगेको छ ।

यसअघि, दोस्रो संविधानसभा निर्वाचनमा छमध्ये एउटा पनि निर्वाचन क्षेत्रमा मधेशवादी दलले जित हात पार्न सकेको थिएन ।

यद्यपि, पहिलो संविधानसभामा भने सबै क्षेत्रबाट मधेशवादी दलकै उम्मेदवार विजयी भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनयता भएका मधेश आन्दोलन तथा बदलिएको राजनीतिक परिदृश्यमा गुमेको आफ्नो साख पुनःस्थापित गर्न मधेशवादी दलका नेता कार्यकर्ता अहिले निकै सक्रियतापूर्वक लागेको सप्तरी क्षेत्र २ (ख) का प्रदेशसभा उम्मेदवार एवं राजपा महासचिव मनिष कुमार सुमनले बताउनुभयो ।

अर्कोतिर, नेपाली काँग्रेस र वाम गठबन्धन पनि आ–आफ्नो पछिल्लो चुनावी परिणामलाई निरन्तरता दिन लागिपरेका छन् ।

पछिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेस तथा मधेशवादी दलको तुलनामा अपेक्षाकृत कमजोर देखिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर भए पनि शक्ति मजबुत पार्न लागेका छन् ।

पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीले तीन, काँग्रेसले दुई तथा एमालेले एक स्थानमा जित हात पारेको थियो । यसपालि भने यी ठूला दलका लागि चुनौती भने सहज नरहेको स्थानीय जानकारहरु बताउँछन् ।

काँग्रेस तथा वाम गठबन्धनका उम्मेदवार पनि आफ्नो स्थिति निकै मजबुत रहेको दाबी गरिरहेका छन् ।

सप्तरीलाई आफ्नो पुरानो गढ मान्ने काँग्रेसीहरु हाल सप्तरीमा पुनः काँग्रेसको लहर देखिएको र आगामी चुनावमा काँग्रेसले ठूलो सफलता हात पार्ने दाबी गरिरहेका छन् भने अर्कोतिर एमाले र माओवादी केन्द्र पनि विभिन्न क्षेत्रमा अगाडि रहेको तिनका उम्मेदवार तथा कार्यकर्ताहरु बताइरहेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पछिल्लो केही समययता काँग्रेसप्रति मतदाताको सोचमा सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ ।

मधेशवादीलाई सघाउँदै लोकतान्त्रिक गठबन्धनलाई मजबुत पार्ने रणनीतिका साथ काँग्रेसले चुनावी अभियान थालेका हुनाले आम मधेशी मतदाता काँग्रेसलाई संक्रमणकालीन स्थितिमा अभिभावकको भूमिका प्रदान गर्ने पक्षमा रहेको विश्लेषण उहाँको छ ।

यता सप्तरीमा यसपालि वाम गठबन्धन निकै मजबुत स्थितिमा रहेको माओवादी नेता एवं सप्तरी निर्वाचन क्षेत्र नं १ का प्रत्यासी अशोककुमार मण्डलको भनाइ छ ।

सप्तरीलगायत समग्र प्रदेश नं २ मै मधेशवादीको पक्षमा ठूलो जनलहर रहेको र मधेशवादी दलप्रति देखिएको जनलहरकै कारण संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपेन्द्र यादव कोशीपारिको मोरङ र सुनसरी छाडी सप्तरी आएको मधेशवादी नेता कार्यकर्ताको भनाइ छ ।

उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र नं २ बाट चुनावमा उठ्नुभएको छ ।

उता। फोरमका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार यादव र वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार उमेश यादव र राजपाका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरबीच निर्वाचन क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचनको सुरक्षा र सतर्कतातर्फ स्थानीय प्रशासनले विशेष जोड दिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्