Logo

मौन अवधिमा मतदातालाई पैसा बाँड्ने तयारी, यस्ता छन् ५० करोडसम्म खर्च गर्ने उम्मेदवार



८ मंसिर, काठमाण्डौ । पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा अत्याधिक खर्च हुनेभएकाले नै दलहरु धनाढ्य व्यापारी तथा उद्योगिलाई आफ्नो दलमा भित्र्याउन तल्लिन हुने गरेका छन् । अर्कोतिर पार्टीलाई राम्रो दाम चढाउन सक्ने व्यक्ति राजनीतिक संघर्ष बिना नै नेता बन्ने गरेका छन् ।

यसैवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपछि दलका ठूला नेताहरुले नै नेपालको निर्वाचन प्रणाली खर्चिलो बनेको टिप्पणी गरेका थिए । चुनावका लागि राज्यले गर्नुपर्ने खर्च एकातिर छ भने उम्मेदवारले गर्ने खर्च अर्कोतिर ।

पैसा हुने उम्मेदवारले आवश्यकता अनुसार खर्च गरेर चुनावमा रवाफ देखाउने गरेका छन् भने नहुनेले पनि ऋण वा चन्दा उठाएर भए पनि ठूलै खर्च गर्नुपर्ने बाध्यता छ । मतदाता रिझाउनका लागि पैसा नै पहिलो अस्त्र बन्दै गएकाले उम्मेदवारलाई पनि सकस छ ।

निर्वाचन आयोगले उम्मेदवारका लागि खर्च गर्ने सिमा तोकिदिएको छ । नियमअनुसार आयोगले तोकेको सिमाभन्दा बढि खर्च गर्नु गैर कानुनी मानिन्छ । तर कुनै पनि उम्मेदवारको खर्च आयोगले तोकेको सिमाभित्र नरहने निश्चित छ ।

निर्वाचन प्रचारमा परिचालन गरिने कार्यकर्ता र सवारी साधनमा हुने खर्चको सीमाले आयोगको घेरालाई निकै पछाडि पार्ने गरेको छ ।
यसपटकको चुनावमा सबैभन्दा धेरै पैसा खर्च गर्ने सम्भावित उम्मेदवारको रुपमा विक्रम पाण्डेलाई लिइएको छ । चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पाण्डेका प्रतिस्पर्धी माओवादी अध्यक्ष प्रचण्ड हुन् । त्यसैले पनि पाण्डेलाई खर्च गर्नुपर्ने चुनौति देखिएको छ । पाण्डेले चुनाव जित्नका लागि ५० करोड रुपैयाँसम्म खर्च गर्न सक्ने अनुमान गरिएको छ । निर्माण व्यवसायीसमेत रहेका पाण्डे ५० करोडसम्म खर्च गरेर चुनाव लड्ने हैसियत राख्दछन् ।

पाण्डेका प्रतिस्पर्धी प्रचण्डलाई पनि जसरी पनि चुनाव जित्नै पर्ने चुनौति छ । त्यसैले उनी पनि पैसा खर्च गर्न पछि हट्ने छैनन् ।
सिन्धुपाल्चोक २ बाट चुनाव लडेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पनि खर्च गर्नेमध्येका उम्मेदवारमा पर्छन् । बुढेसकालमा चुनाव लडेका राणाले पनि यस पटकको चुनाव जसरी पनि जित्ने लक्ष्य लिएका छन् ।

सिन्धुपाल्चोककै अर्का कांग्रेसका उम्मेदवार मोहन बस्नेतले पनि चुनावमा ४० करोडसम्म खर्च गर्ने बताइएको छ । वाम गठबन्धनका उम्मेदवार अग्नी सापकोटासँग भिडेका बस्नेतले चुनाव जित्नका लागि ४० करोडसम्म खर्च गर्न तयार रहेको अवस्थामा सापकोटाले पनि झण्डै त्यति नै बराबरको रकम खर्च गर्ने तयारी गरेका छन् ।

मतदातामाझ लोकप्रिय मानिएका कांग्रेस नेता गगन थापाले समेत १० करोड रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ । उनका प्रतिस्पर्धी राजन भट्टराईले २० करोड रुपैयाँसम्म खर्च गरेर मतदाता आफ्नो पक्षमा पार्ने रणनीति लिएपछि थापा पनि करोडौँ खर्च गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

विवेकसिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कडा टक्कर दिएका कांग्रेस उम्मेदवार प्रकाशमान सिंह पनि पैसाकै भरमा मतदाता खुशी पार्नुपर्ने अवस्थामा पुगेका छन् । त्यसो त मिश्रले नै ३५ करोडसम्म खर्च गर्न लागगेको चर्चा चलेको छ । यस्तो अवस्थामा बलियो राजनीतिक पकड भएका सिंहले जति पनि खर्च गर्न सक्नेछन् ।

काठमाण्डौ कै क्षेत्र नम्बर ७ का मुख्य प्रतिस्पर्धी वाम गठबन्धनका रामवीर मानान्धर र लोकतान्त्रिक गठबन्धनका विक्रम थापाबिच पनि खर्चको प्रतिस्पर्धा भएको बताइन्छ । मानान्धरले काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यको सहयोगमा ३४ करोड रुपैयाँसम्म खर्च गर्ने बताइएको छ ।

काठमाण्डौ १० बाटै उम्मेदवार बनेका कांग्रेस नेता राजन केसीले पनि २० करोडसम्म खर्च गर्ने अनुमान गरिएको छ ।
धेरै खर्च गर्ने अन्य उम्मेदवारहरुमा कांग्रेस सभापति शेरबहादुर देउवा, आरजु राणा, कमला थापा, एनपी साउद, बिना मगर लगायतको नाम पनि अग्रपंक्तिमा आएको छ । त्यसैगरी रामहरी खतिवडा, यज्ञ सुनवार, उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका उम्मेदवार पैसा खर्च गरेर जसरी पनि चुनाव जित्ने रणनीतिमा छन् ।

राजेन्द्र महतो र विमलेन्द्र निधी पनि एक अर्कालाई हराउनका लागि करोडौ खर्च गर्ने तयारीमा छन् । अनिल रुगँटा पनि जति पनि पैसा खर्च गर्न सक्ने उम्मेदवारको रुपमा लिइएको छ । कांग्रेस नेता फरमुल्लाह मन्सुरले पनि ठूलै रकम खर्च गर्ने बताइएको छ ।

त्यसैगरी अजयशंकर नायक, राजकिशोर यादव, महेन्द्र यादव, रघुविर महासेठ, लगायतका नेताहरु पनि पैसाकै आडमा चुनाव जित्ने अभियानमा छन् ।
अधिकांश उम्मेदवारहरुले मौन अवधिमा घरघरमा पुगि मतदातालाई भेटेर पैसा बाँड्ने आशंका गरिएको छ ।

पैसा नहुनेले पनि चन्दा माग्नेदेखि लिएर आफन्तसँग ऋण वा सहयोग मागेर चुनावी खर्च जुटाउने गरेका छन् ।
चुनावी प्रचारका लागि खेताला लगाए सरी नेता कार्यकर्तालाई खटाएर पैसा दिनुपर्ने हुन्छ । प्रचार अवधिको यातायात, खाने, बस्ने जस्ता शीर्षकको खर्च पनि अत्याधिक हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot