Logo

कम्मर दुखेको निको पार्न ६ वर्षदेखि यौन क्रियाकलाप, अन्ततः महिलालाई यौन शोषण गर्ने रिम्पोछे प्रहरी फन्दामा



८ मंसिर, काठमाण्डौ । कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन् । उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामाले जस्तै रोग पनि सजिलै निको पार्छन् ।‘

सिन्धुली घर भएका ५० वर्षीय रिम्पोछेले उनलाई आश्वासन दिए, ‘म अवतारी लामा हुँ । जस्तै रोग पनि निको पार्न सक्छु।‘

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार उनले केही समय ती महिलालाई विभिन्न विधिबाट उपचार गरे। जति नै उपचार गरेपनि उनको व्यथा भने बीसबाट उन्नाइस भएको थिएन ।

समय बित्दै जाँदा गुरुको उपचार विधि नै फेरियो। शुरुका दिनमा केही समय उपचार गराएर घर फर्कने गर्थिन् ती महिला। पछिल्ला दिनमा रातदिन नै त्यहीँ बसेर उपचार गर्नुपर्ने लामाले बताउन थाले। रोग निको हुने आशामा ती महिलाले दिन मात्र होइन, रात समेत गुम्बामा नै कटाउन थालिन् ।

समय बित्दै जाँदा गुरुले महिलालाई एकान्त कोठामा लगेर निर्वस्त्र पारेर यौन शोषण गर्न शुरु गरे। ६८ सालदेखि उनको यो प्रकृया चली नै रहेको थियो। ती महिलाजस्तै अरुको पनि शोषण भएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको डिआइजी कार्कीले बताए।

लामाले पीडित महिलाहरूलाई यी कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुने, पुनः रोग बल्झिने, रोगको उपचारको निम्ति गुरुसँगै यौन सम्पर्क राख्नु पर्ने र अरुसित बिहे गरे मृत्यु पनि हुनसक्ने डर र धार्मिक त्रास फैलाउने गरेको पीडित महिलाले प्रहरीमा बयान दिएका छन् ।

१० वर्षदेखि दक्षिणकालीमा सञ्चालित गुम्बा १२ रोपनी जग्गामा फैलिएको छ। गुम्बाभित्र लामाको लागि तीन तले भवन छ जहाँ बस्नको लागि सुविधा सम्पन्न कोठाहरु रहेका छन्। ६ वर्षदेखि शोषित बनेकी ती महिला अन्ततः आफ्नै घर फर्किन्। घर फर्किएपछि पनि गुरुले फोन गरेर नग्न फोटो सामाजिक सञ्जालमा हाल्दिने भन्दै त्रास देखाउँथे। त्यसपछि उनी लाचार भएर फेरि गुम्वा नै फर्किनु परेको थियो।
कसरी पक्राउ परे धर्मगुरु टुल्कु लामा?
केन्द्रीय अनुसन्धान व्यूरोलाई केही समयदेखि गुम्बामा महिलामाथि यौन शोषण भइरहेको सूचना आयो। योसँगै अनुसन्धान सुरु भयो ।

गत मंगलबार दिउँसो करिब २ बजेतिर सिआइबीको टोली सुराकी चालमा गुम्बा पुग्यो। केही समयको निगरानीपछि प्रहरीलाई आएको सूचना सत्य साबित भयो। प्रहरी गुम्बामा पुग्दा त्यहाँ ७ महिला र ३ पुरुष थिए ।

सिभिल पोशाकमा पुगेको प्रहरीले लामालाई तत्काल पक्राउ गर्योद। लामाले अरु पनि शोषित भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले कोही शोषित भए प्रहरीमा जानकारी दिन आह्वान गरेको छ। हामी पीडितको नाम गोप्य राख्नेछौँ, डिआइजी कार्कीले बताए ।

नेपालमा यौन शोषणको घटनामा धर्मगुरु पक्राउ परेको यो पहिलो घटना भएको उनले बताए ।
धर्मगुरु लामा १० वर्ष अगाडि ट्रेकिङ व्यवसायी
सिन्धुली कुसेश्वर दुम्जा ९ स्थायी घर भएका ५६ वर्षीय लामा एक दशकदेखि गुम्बा सञ्चालन गरेर बसेको अनुसन्धानमा देखिएको छ ।
त्यसअघि भने लामा ट्रेकिङ व्यवसायमा संलग्न भएको हुनसक्ने अनुसन्धानमा देखिएको एक प्रहरी अधिकारीले बताए। ‘प्रारम्भिक अनुसन्धानमा ट्रेकिङ व्यवसायी देखिएको छ। थप अनुसन्धान गर्दैछौँ,‘ उनले भने ।

लामालाई यौन शोषण र विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीका लागि छानबिन गर्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ

pahilopost.com बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot