Logo

मौन अवधिको पालना नगर्ने उम्मेदवारले चुनाव जिते पनि सबै प्रक्रिया रद्द हुने



८ मंसिर, काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु भएको हो । मौन अवधि मतदानका दिन मतदान केन्द्र बन्द नभएसम्म जारी रहनेछ । यो समयमा कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न गराउन पाइँदैन ।

यतिका दिनसम्म उम्मेदवारले मतदातामाझ गरेका प्रतिवद्धताका बारेमा शान्त भएर सोच्ने मौका मतदातालाई दिनका लागि पनि मौन अवधिको व्यवस्था गरिएको हो । एउटै मतदातालाई धेरै उम्मेदवाहरुले भेटेर मत मागेका हुन्छन् ।

मतदानको पूर्वसन्ध्यामा मतदाताले सोच विचार गरेर योग्य व्यक्तिलाई मत प्रदान गर्न सकून् भनेर मौन अवधि दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै ढकालले उम्मेदवारका विचार र योजनाका बारेमा विश्लेषण गर्नका लागि छुट्टयाइएको समय नै मौन अवधि भएको ढकालले प्रष्ट पारे ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

मतदाता, राजनीतिक दल तथा उम्मेदवार, अनुगमनकर्ता र सञ्चार माध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गराउन मौन अवधि लागू गरिएको हो । यसले निर्वाचनलाई मर्यादित पनि बनाउने विश्वास गरिन्छ ।

कुनै पनि उम्मेदवारले यो समयमा प्रचारप्रसार र मत माग्ने काम गर्न नपाउने प्रवक्ता ढकालले बताए ।
“एसएमएस तथा फेसबुकजस्ता विद्युतीय सामाजिक सञ्जालबाट समेत मत माग्न पाइँदैन । आचारसंहिताअनुसार राजनीतिक दल तथा उम्मेदवारले मौन अवधि सुरु हुनु अगाडि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना प्रचार सामग्री पनि हटाउनुपर्छ ।” ढकालले भने ।

निर्वाचन आचारसंहिताले पनि मौन अवधिमा निर्वाचन कुनै पनि खालका प्रचारप्रसार र मत माग्न निषेध गरेको छ ।
उम्मेदवारले मौन अवधिको आचारसंहिता उल्लङ्घन गरेको पुष्टी भएका उम्मेदवारी रद्द गरिने चेतावनी ढकालले दिएका छन् । चुनावी नतिजा आइसकेपछि पनि वा विजयी भइसकेको कुनै उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको पुष्टी भएमा समेत सम्बन्धित उम्मेदवारको सबै प्रक्रिया शुन्यमा झार्ने ढकालले स्पष्ट पारे ।

“उम्मेदवारका हकमा मनोनयन दर्तादेखिका सम्पूर्ण प्रक्रिया रद्द हुन्छ ।” ढकालले भने ।
उम्मेदवार बाहेक अरुका हकमा जरिवाना गर्ने वा नियम बमोजित कारबाही गरिने ढकालको भनाई छ ।
निर्वाचनका क्रममा आयोगले तोकेबमोजिम खर्च नगरी सिमा नाघेको पाइएमा पनि कारबाही गरिने ढकालले बताए ।

“आयोगले तोकेकोभन्दा बढि खर्च गरेको पुष्टी हुने कागजात फेला परेमा उम्मेदवारले गर्नुभएको खर्च बराबर वा हामीले तोकेको सिमा बराबर जो बढि हुन्छ, त्यही बराबरको जरिवाना हुन्छ ।” ढकालले भने ।
निर्वाचन कसुर तथा सजायँ ऐन अन्तरगत प्रचलित कानुन बमोजिम सम्पूर्ण कारबाहीका व्यवस्था प्रयोग गरिने ढकालको भनाई छ ।

सामाजिक संजालमार्फत गरिएको खर्चको विवरण कसैले झुटो पेश गर्न नमिल्ने भएकाले सचेत हुने ढकालले उम्मेदवारलाई सचेत गराएका छन् ।
अहिले मौन अवधि पहिलो चरणमा मंसिर १० गते मतदान हुने ३२ जिल्लाका लागि मात्र लागू हुने भए पनि सञ्चार माध्यमले भने दोस्रो चरणको चुनावी प्रचारका सामग्रीसमेत यस अवधिमा प्रकाशनरप्रसारण गर्न पाउँदैनन् ।

सरकारले निर्वाचन आचारंसहिता विपरित गरेको सरुवा, बढुवाप्रति ध्यानाकर्षण भएको ढकालले बताएका छन् । लोकतान्त्रिक पद्धतिमा केही छिटफुट रुपमा निमय उल्लङ्घन भएको स्विकार गर्दै ढकालले सम्बन्धित निकायलाई सचेत गराइएको बताए ।

चुनावका बेला मुख्य प्रचारकका रुपमा केही शीर्ष नेताहरुलाई हेलिकप्टर प्रयोग लगायतका केही गतिविधिका लागि आयोगले छुट दिएको ढकालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot