Logo

कमल थापालाई आयोगको २४ घण्टे अल्टिमेटम : चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्छौं



काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र आयोगमा आएर वा पत्रमार्फत स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ ।

राप्रपा अध्यक्ष समेत उप्रधानमन्त्री थापाले मौन अवधि सुरु भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको पक्षमा मत माँगेपछि आयोगले यस्तो ध्यानाकार्षण गरेको हो । आयोगले थापालाई आजै पत्राचार गरेको खुलासा भएको छ ।

थापालाई तत्काल स्पष्टीकरण दिनको लागि आयोगले चेतावनी दिएको आयोगका एक अधिकारीले पुष्टि गरे । उनका अनुसार मौन अवधि सुरु भएको अवस्थामा सरकारका एक जिम्मेवारी व्यक्तिले यस्तो हर्कत गरेपछि बाध्य भएर आयोगले पत्राचार गरेको हो ।

निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले उपप्रधानमन्त्री थापासँग आचारसंहिता उल्ङ्घन किन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो। ‘माननीय उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ,’ आयोगले भनेको छ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा पहिलो चरणको निर्वाचन हुँदैछ। त्यसका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot