Logo

रक्षामन्त्रीको अपिल : ‘भोलि हुने निर्वाचनमा बलियो सुरक्षाको प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुहोस्’



‘विप्लव समूहका सबै नेताहरु सेनाको विशेष निगरानीमा छन्, अहिलेसम्म ५ सय जनालाई गिरफ्तार गरियो’
‘चुनावअघि विप्लव समहूसँग वार्ता हुँदैन’
काठमाडौं, ९ मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका देशभरिका छिटपुट घट्नाहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष समूहको संलग्नता भएकोले उक्त पार्टीका नेताहरुलाई अहिले सरकारले विशेष निगरानीमा राखेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रक्षामन्त्री प्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् । निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको उनको खुलासा थियो । उनले भने,‘निर्वाचन जुनसुकै हालतमा निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्, निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई नेपाल सरकार खासगरी सुरक्षा संयन्त्रले अहिले व्यापक खोजि गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजि कार्य जारी छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री प्रधानले सरकार अहिले विप्लव समूहसँग वार्ता गर्ने अवस्थामा नरहेको स्पष्ट पारे । उनले भने,‘चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं, गरेपनि हामी चुनावपछि गर्छौं, हामी हिट एण्ड रनको पक्षमा छैनौं, यदि विप्लव समूह वार्तामा आयो भने हामी उहाँहरुको कुरा सन्न तयार हुन्छौं।’ संविधान ल्याउनको लागि विप्लव समूहको पनि भूमिका भएकोले आफूहरु वार्ताको लागि तयार हुने उनको भनाई थियो ।

प्रधानले मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछिमात्रै उक्त समूहसँग वार्तामा बस्ने त्यो भन्दा अघि वार्ता नगर्ने स्पष्ट पारे । उनले थपे,‘चुनावपछि हामी उहाँहरुका माँग सम्बोधन गर्छौं, अहिले वार्तामा बस्ने समय होईन र बस्दैनौं पनि।’

भोलि हुने निर्वाचनको लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था गरेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न मन्त्री प्रधानले आम मतदाताहरुलाई आह्वान गरे । उनले थपे,‘ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, तपाईहरु निर्धक्क भएर मतदान गर्नुहोस्, आफ्नो अमुल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस्।’ उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकार अहिले २४ घण्टा खटिरहेको पनि विश्वास दिलाए ।

उनले अब कसैले चाहेर पनि निर्वाचन विथोल्न केही गर्न नसक्ने दाबी गर्दै भने,‘निर्वाचन विथोल्न चाहने तत्वहरु करिब २ हजार जनाको हामीले लिष्ट बनाएका छौं, अहिलेसम्म करिब ५ सय जनालाई गिरफ्तार गरिसकिएको छ, ती मध्ये धेरै तत्वहरुको त अहिले भागाभाग भैरहेको छ।’

मन्त्री प्रधानले भोलि हुने ३२ जिल्लाका निर्वाचनमा २८ हजार ८ सय ४६ नेपाली सेना खटिने जानकारी दिए । उनले भने,‘दुवै निर्वाचनकोलागि ६४ हजार प्लस सेना खटिँदैछन्, त्यस्तै नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत यो निर्वाचनमा खटिँदैछन्, त्यस्तै हवाई अनुगमन भैरहेको छ, त्यसैले सुरक्षाको सम्पूर्ण व्यवस्था हामीले गरेका छौं।’

सरकारले सबै सुरक्षा निकायका प्रमुखरुसँग यस अघि नै छलफल गरिसकेकोले त्यही अनुसार सुरक्षा योजना बनाईएको पनि उनले जानकारी दिए । उनले भने,‘हामीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिसकेका छौं, निर्भिकताका साथ चुनाव हुन्छ, उहाँहरुले पनि त्यही प्रतिबद्धता जनाउनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाले आफूहरुले चुनावलाई सफल रुपमा सम्पन्न गर्नको लगि मेची–काली अभियान चलाएको समेत जनाए ।

उनले भने,‘हामी यो निर्वाचनलाई सफल रुपमा सम्पन्न गराउनको लागि अभियानको रुपमा देश दौडाहामा छौं, हामीले धेरै ठाउँमा चुनावी विशेष साक्षात्कार सम्पन्न गरेका छौं भने अब भोलिको निर्वाचन सम्पन्न भएलगत्तै फेरि अभियानलाई सुरु गर्छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot