Logo

भोलि हुने निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयको दाबी, जमिन र हवाईबाट मतदान केन्द्रको सुरक्षा



काठमाडौँ, ९ मंसिर : पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।

निर्वाचन आयोगले तयार पारेको योजना अनुसार गृहमन्त्रालय सम्पूर्णरुपमा तयार रहेको उनले बताए। भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले बताए। निर्वाचनमा तीन घेराको सुरक्षा प्रवन्ध गरेको छ।

मतदान केन्द्र र बस्तिहरु कभर हुने गरी सुरक्षा निकायबीच दोहोरो नपर्ने गरी सुरक्षा तयारी मन्त्रालयले गरेको छ। क्षेत्र नियन्त्रण, कुनै घटना भएको स्थानमा १० देखि ३० मिनेटमा सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मन्त्रालयले गरेको छ। जमिन र हवाईबाट समेत मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाएको छ।

विगतको सफल अभ्यासहरुलाई आधार मानेर योजना बनाइएको उनले बताए। घटना वा दुर्घटना भए प्रतिक्रिया जनाउने निरोधात्मक सुरक्षा सतर्कता अपनाउने गरी योजना निर्माण गरिएको गृहले जनाएको छ। आम मतदाता, राजनीतिक दल तथा निर्वाचन आयोगको समन्वयमा काम भइरहेको मन्त्रालयले जनायो।

निर्वाचन विरोधी केहि घटना भए पनि परिस्थिति नियन्त्रणमै रहेको मन्त्रालयले जनाएको छ। अवैध हातहतियार वरामद गरिनुका साथै ४ सय जना विप्लब माओवादी कार्यकर्ता पक्राउ गरेको मन्त्रालयले जनाएको छ।

उता निर्वाचन आयोगले पहिलो चरणमा भोलि मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

तस्विर : मुकुन्द कािलकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot