Logo

विनोद चौधरीले भने,”प्रदेश ७ मा दुईवटा ठूला उद्योग खोल्छु”



धनगढी, ९, मंसिर। प्रतिष्ठित उद्योगपति तथा नेपाली कांग्रेस नेता विनोदकुमार चौधरीले कैलाली सहित प्रदेश नम्बर ७ मा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने बताएका छन् । उनले दुई ठूला (मेगा) उद्योग स्थापनासंगै प्रदेश नम्बर ७ मा आर्थिक गतिविधिमा उल्लेख्य बृद्धि हुने तथा रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए ।

नेपाल प्रेस युनियन कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कैलाली तथा कञ्चपुरका दुई क्षेत्रमा विशेष औद्योगिक क्षेत्र स्थापना हुन लागेको चर्चा गरे। ‘देशका विभिन्न क्षेत्रमा सात वटा विशेष औद्योगिक क्षेत्र खुल्दैछन्’ उनले भने– प्रदेश नम्बर ७ मा दुई वटा औद्योगिक क्षेत्र स्थापना हुदैछन् र यहाँ उद्योग खोल्ने मेरो प्राथमिकता छ ।

नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार समेत रहेका प्रतिष्ठित उद्योगपति चौधरीले पछिल्ला २५ वर्षमा कुनै पनि क्षेत्रमा औद्योगिक क्षेत्र नखुलेकोमा कांग्रेस नेतृत्वको सरकारले यसको पहल गरेर मुलुकको तीब्र आर्थिक समृद्धिमा गतिलो योगदान पुर्‍याएको चर्चा गरे।

उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरू भौगोलिक दृष्टिकोणले कठिन रहेको र नेपालको गरिबीको रेखामुनी रहेको दर २१ प्रतिशत रहेकोमा सुदूरपश्चिमको ४२ प्रतिशत रहनु बिडम्बना रहेको बताए ।

उनले प्रदेश नम्बर ७ जलस्रोतका दृष्टिले निकै धनी रहेको बताए । उद्योगपति चौधरीले अपर कर्णाली, पञ्चेश्वर, पश्चिम सेती, बुढिगंगा जस्ता अपार जलस्रोत रहेको बताए । ‘यति अपार जलस्रोत हुँदाहुँदै पनि प्रदेश नम्बर ७ का २५ प्रतिशत जनताले मात्रै विद्युत सेवा प्राप्त गरिरहेका छन्’ उनले थपे ।

उनले कांग्रेसका सामु अहिले संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र जनताको तीब्र आर्थिक समृद्धि मात्रै प्रमुख एजेण्डा रहेको चर्चा गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot