Logo

पचास हजार युवालाई स्वरोजगार बनाइने



पाल्पा, १० मंसिर (रासस) : युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको छ भन्नुभयो ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार निर्देशक गौतमले हालसम्म ४५ हजार युवालाई स्वरोजगार बनाइसकेको बताउनुभयो । यसका लागि ७५३ स्थानीय तहमा नमूना कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

कोषले सहकारीलाई पहिलो चरणमा रु ५० लाखसम्म थोक कर्जा प्रवाह गर्दै आएको छ । दोस्रो चरणमा युवा स्वरोजगार कोषको कर्जा माग गर्ने सहकारीलाई रु ७५ लाखसम्म थोक कर्जा प्रदान गर्दै आएको छ ।

२०६५ सालदेखि स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लगानी गरिएका व्यवसायको बीमासमेत गर्दै आएपछि कोषको कर्जा सहकारी र बेरोजगार युवा आकर्षित भएका छन् ।

कोषले असल ऋणी तथा नियमित साँवा ब्याज तिर्नेलाई १० प्रतिशत ब्याजदरमा समेत ६० प्रतिशत ब्याज अनुदान दिँदै आएको उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष कृष्ण भुसालले युवा स्वरोजगार कोषको कर्जा बेरोजगार युवालाई लगानी गरी अहिले आत्मनिर्भर बनाइएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्