Logo

प्रचण्डको भोट माग्ने काइदा : बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार



१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार गरेका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए ।

बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो ।
माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं. को बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । उक्त घटना २०६२ जेठ २३ गते भएको थियो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन् । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन ।
चितवन क्षेत्र नं. ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्