Logo

सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी नभएसम्म बस्ती स्थानान्तरण हुँदैन : प्रचण्ड



चितवन, १० मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण नहुने बताउनुभएको छ ।

माडीको बाँदरझुलामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता दाहालले यसअघि आफू प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन शुरु गरे पनि आफूले सो कामलाई ठाडो निर्देशनबाट रोकेको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँबाट मलाई फोन गयो । हात्ती लगाएर घर भत्काइँदै छ भनेर । निकुञ्जबाट निर्णय भएपछि घर भत्काउन, बाली नष्ट गर्न लागिएको थियो तर मैले त्यसो गर्न दिइन ।”

उहाँले बस्ती स्थानान्तरणका लागि कम्तीमा पाँच कठ्ठाका दरले जग्गा आवश्यक पर्ने तथा शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण गर्न नहुने बताउनुभयो । सात धुरका दरले जग्गा दिएर यहाँबाट स्थान्तरण गर्न खोजिएको छ भन्दै अध्यक्ष दाहालले भन्नुभया,े “त्यो तपाईंहरुको लागि पर्याप्त छैन । कम्तीमा पनि पाँच कठ्ठा जग्गा चाहिन्छ ।”

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार दाहालले वाम गठबन्धनको बहुमत आएपछि स्थिर सरकार निर्माण हुने जिकिर गर्दै त्यसपछि सुकुम्बासी समस्याको समाधान गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाट पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जंगलको बीच भागमा बस्ती रहेकाले वन्यजन्तु, बाढी, शिक्षा, स्वास्थ्यलगायतको समस्या रहेको सो स्थनामा उपयुक्त विकल्प पाए बस्तीलाई स्थान्तरण प्रक्रिया शुरु गरिने उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको भूभागमा बाँदरझुला बस्ती छ । निकुञ्जको ७०० सय हेक्टर क्षेत्रफलमा पाँच सय भन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्