Logo

काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार छ : बालकृष्ण खाँण



काठमाडौँ, १० मंसिर : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्नेे बेला आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा समितिका संयोजक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले अहिलेको निर्वाचन लोकतन्त्रवादी र वामपन्थीबीचको जनमत संग्रह भएको सो धारणा व्यक्त गर्दै वामपन्थी शक्तिबाट लोकतन्त्र खोसिनसक्ने र पुनःप्राप्तिका लागि काँग्रेसले संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नेता खाँणले खोसिएको लोकतन्त्र जनताको हातमा फर्काउन पुनःकाँग्रेसले केही समय संघर्ष गर्नुपर्ने भएकाले विभिन्न पेशा र व्यवसायमा आबद्ध अर्थशास्त्री, विश्वविद्यालयका पूर्वउपकूलपति, पूर्वप्रशासक, गभर्नर एवं पत्रकारलाई सजग र सर्तक रहन आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले लोकतन्त्रमा मात्र विधिको शासन हुने बताउनुभयो ।

उहाँले अधिनायकवादी चरित्र भएका व्यक्तिले प्रजातन्त्र फस्टाउन नदिने बताउँदै अधिनायकवाद लागू भएमा मुलुक उत्तरकोरीया र क्युवामा रुपान्तरण हुने संकेत पनि गर्नुभयो ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले अधिनायकवादी शासन व्यवस्था लागू भए मुलुकमा स्थापित उद्योग राज्यले निजीकरण गर्ने र व्यक्तिको आफ्नो निजी सम्पत्ति नहुने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र जनताका अधिकार सुनिश्चित हुने बताउनुभयो ।

पूर्व मुख्य सचिव विमल कोइरालाले काँग्रेस लोकतन्त्रको पर्यावाची भएको बताउनुभयो । पूर्वराजदूत डा दुर्गेसमान सिंह, कानून व्यवसायी प्रेमबहादुर खड्कालगायतले लोकतन्त्रको अपरिहार्यता बारे चर्चा गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्