Logo

कांग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिने महामन्त्री शशांक कोइरालाको दाबी



११ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताएका छन् ।

यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीभित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे ।
पार्टीभित्र एकताको सन्देश गएकाले पनि आफ्ना उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्नसक्ने बताए ।

उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको बताएका छन् ।
प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइने बताए ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ ।
उनले जिल्लामा अन्तराष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

राजनीतिक क्रान्तिको नेतृत्व कांग्रेसले गरेको बताउँदै कोइरालाले अब आर्थिक विकासको नेतृत्व पनि कांग्रेसले गर्ने बताए ।
कांग्रेसको नेतृत्वमा विकासको यात्रा सुरु भएपछि नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियान पनि सुरु गरिने उनले बताए ।
अहिले विकासको मुद्दा नै पहिलो प्राथमिकता भएको बताउँदै कोइरालाले केही वर्षपछि हिन्दुराष्ट्रका बारेमा जनमत संग्रह गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्