भद्रपुर, ११ मंसिर (रासस) : आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालीम आज झापामा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
गएको ७ गतेदेखि मेची बहुमुखी क्याम्पस भद्रपुरमा सञ्चालित सो तालीममा एक हजार ४५० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।
तालीममा सहभागीहरुलाई प्रशिक्षकका रुपमा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्य, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख ज्ञानेन्द्र ओझा र होमनाथ भण्डारीलगायतले तालीम दिनुभएको थियो ।
प्रशिक्षकले सहभागीहरुलाई मतदान केन्द्रमा अपनाउनु पर्ने प्रक्रिया, मतदाता परिचयपत्र वितरण, मतपेटिकामा लगाउने लाहाछाप, मुचुल्काजस्ता विविध पक्षमा जानकारी गराएको थियो ।
तालीम अवधिमा प्रमृख जिल्ला अधिकारी क्रृषिराम तिवारीले निर्वाचनलाई व्यवस्थित एवं मर्यादित बनाउनु मतदान अधिकृत एवं सहायक मतदान अधिकृत तथा खटिने अन्य कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको थियो ।
सो अवसरमा प्रहरी उपरीक्षक विष्णुकुमार केसीले निर्वाचन शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले कोही पनि निराश एवं विचलित हुनु पर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको थियो ।