मकवानपुर, ११ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभाका ‘ख’ का उम्मेद्धवार अशोक शाक्यले एमालेले नेतृत्व गरेकै कारण मकवानपुरको विकास हुन नसकेको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘यो २० वर्ष एमालेले जित्यो, यहाँ भएका उद्योगहरुलाई स्थायी रुपमा सञ्चालन गर्न सक्नुभएन, धेरै उद्योगहरु यहाँबाट विस्थापित भए । हामीले धेरै कामहरु गर्न सकेनौं । यो यर्थाथ हो । तर मकवानपुर विकासको संभावाना बोकेको जिल्ला हो, यसमा कुनै दुई मत छैन।’
क्लबका सभापति ऋषि ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै शाक्यले मकवानपुर वामपन्थीहरुको पकड भएको जिल्ला भएपनि हिजोको परिस्थितिलाई यहाँका मतदाताहरुले बुझिसकेकोले यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नै विजयी बनाउने दाबी गरे । उनले थपे,‘उहाँहरुले सभागृह निर्माण गर्न सक्नुभएन, सिटीभिटी सञ्चालन गर्न सक्नुभएन, वामपन्थीहरुले सरकार चलाउँदा मकवानपुर पछि पर्यो भन्ने कुरा यहाँका जनताहरुले जितेका छन् ।’
कांग्रेस नेता ईन्द्र बानियाँ मन्त्री हुँदा मकवानपुरका लागि धेरै विकासका योजनाहरु आएका उनको दाबी थियो । उनले थपे,‘कांग्रेसले सरकारको नेतृत्व गर्दा धरान चतराको बाटो आएको छ, रिङ रोड आईरहेको छ, ३ सय विघामा दोस्रो औधोगिक क्षेत्र घोषणा भएको छ । अब विकासका लहर आउँछन्।’
उनले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन नै विजयी हुने जिकिर गरे । उनले थपे,‘हाम्रो संगठन छ नि, धेरै वडाहरुमा निर्वाचित भएका छौं । जनताको माया हामीलाई छ । हामी जित्ने कुरामा ढुक्क छौं । वम गठबन्धनले विकासका कामहरु केही देखाउन सक्नुभएको छैन । त्यसैले उहाँहरु यो पटक पराजित हुनुहुन्छ।’
उनले एमाले र माओवादी केन्द्रका प्रतिनिधिहरुले मकवानपुरको विकासको लागि सिन्कोपनि नभाँचेको आरोप लगाए । उनले थपे,‘उहाँहरुले विकासका काम केही गर्न सक्नुभएको छैन । अहिले सक्नुभएको भए भोट माँग्ने अधिकार हुन्थ्यो । बास्तवमा भन्ने हो अहिले त उहाँहरुलाई भोट माँग्ने अधिकार छैन।’
शाक्यले लोकतान्त्रिक गठबन्धन मजबुद ढंगले अघि बढिरहेको समेत विश्वास दिलाए । उनले भने,‘हाम्रो जित सुनिश्चित छ । जनताले कांग्रेस र राप्रपालाई माया गरेको छ । कांग्रेसबाट यो जिल्लाको भविष्य बन्ने देखेर यहाँका जनताहरु उत्साहित छन् ।’
वाम गठबन्धनले दुई तिहाई ल्याउने मिथ्या चलाएपनि जनताहरुले कांग्रेसको नेतृत्व रुचाएकोले लोकतान्त्रिक गठबन्धनकै पक्षमा व्यापक जनलहर देखिएको शाक्यको दाबी थियो । उनले थपे,‘अहिलेको निर्वाचनमा हाम्रो गठबन्धनको पक्षमा मतदाताहरु आईरहनुभएको छ। लेकतन्त्र र प्रजातन्त्र बलियो बनाउनुपर्छ भन्नेमा लहर छ, विकासप्रेमी नेताहरु लोकतान्त्रिक गठबन्धनका नेताहरु हुन ।’
उनले दोहोर्याए भने,‘मकवानपुर जिल्ला एमालेले चलाएको कारण विकास अवरुद्ध भएको हो । अशोक शाक्य जहाँ बसेको छ, ईमानदार भएर काम गरेको छ ।’
त्यस्तै समानुपातिक उम्मेद्धवार एवम् राप्रपा नेता दिपक सिंहले मकवानपुरका जनताहरुले विकास र उन्नती खोजेको स्पष्ट पारे ।
उनले भने,‘विकास र उन्नती यहाँका जनताहरुले चाहेका छन् । वामपन्थीहरुसँग खोक्रो नारामात्रै छन् । जनताले रोजगारी खोजेका छन् । त्यो काम हामी मात्रै गर्न सक्छौं।’
मकवानपुरमा जे जति विकास भएको छन ती सबै कांग्रेस र राप्रपाका नेताहरुका कारण संभव भएको हो । उनले भने,‘मकवानपुरमा औधोगोगिक क्षेत्र बन्दैछ, ३०० सय बेडको अस्पताल, स्वास्थ्य र शिक्षामा समेत विकास हाम्रो अध्यक्ष आदरणीय कमल थापा (उहाँले) नै गर्नुभएको छ। कमल थापा मन्त्री बनेसँगै मकवानपुरमा विशेष प्याकेजको रुपमा विकास भएको छ।’
लोकतन्त्रलाई जोगाउनको लागि लोकतान्त्रिक शक्तिहरु एक हुनुको विकल्प नभएको उनको भनाई थियो । उनले भने,‘साम्यवादी व्यवस्था विरुद्ध हाम्रो लडाई हो ।’