Logo

जनताको जीवनस्तर सुधारका लागि वाम गठबन्धनको विकल्प छैन : डा भट्टराई



काठमाडौँ, ११ मंसिर(रासस):  वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराईले राष्ट्रको दीर्घकालीन हित, जनताको जीवनस्तर र दैनिकीमा सुधारका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ ।

स्थानीय चाबहिल गोपीकृष्ण नगरका मतदातासंग आज बिहान अन्तरक्रिया गर्दै उहाँले ज्येष्ठ नागरिकको सम्मान र सुविधा तथा युवाका लागि रोजगारी पनि वाम गठबन्धनको सरकार बनेमा सुनिश्चित हुने जिकिर गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद डा भट्टराईले निर्वाचित भएर गएपछि टोलमा मतदाता भेट्नै नआउने, जनप्रतिनिधिलाई भेट्न जनताले अर्को निर्वाचन कुर्नुपर्ने, आफ्नो क्षेत्रको मतदाताको दैनिक जीवनस्तरको अवस्था, बाटोघाटो, खानेपानी, बिजुली र सार्वजनिक यातायात जस्ता विषयमा संसद्मा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधि मौन रहने र मतदाताप्रति उत्तरदायी नहुने परिपाटीको अन्त्यका लागि सचेततापूर्वक मतदान गर्न आह्वान गर्नुभयो ।

काठमाडौंँ क्षेत्र नं ४ प्रदेश कमा वाम गठबन्धनका उम्मेदवार निर्मल कुइँकेलले एक पटक वाम गठबन्धनलाई बहुमत दिएर परीक्षण गर्न अनुरोध गर्नुभयो । गोपीकृष्ण हित सेवा समितिका अध्यक्ष डिबी श्रेष्ठले देशका लागि स्थायी सरकारको अत्यन्तै जरुरी रहेको र स्थिर सरकारका लागि यस पटक वाम गठबन्धनलाई विजयी गराएर देशमा चौतर्फी रुपमा देखिएको बेथितिको अन्त्य गर्न आग्रह गर्नुभयो ।

साहित्यकार तारानाथ शर्मा, कामपा ७ का वडाध्यक्ष शुद्धकुमार डंगोल तथा निर्वाचित जनप्रतिनिधि, हिमबाला महिला समूहका अध्यक्ष मेनुका सापकोटालगायतको सहभागिता भएको सो कार्यक्रममा करिब २५ ज्येष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot