Logo

उपेन्द्र यादव मधेश विरोधी हुन, त्यसैले उनको विरुद्धमा डमी उम्मेद्धवार खडा गरेका छौं : कांग्रेस नेता चौरसिया



“२ नम्बर प्रदेशमा ३२ सिटमध्ये कांग्रेसले २४ सिट जित्छ”
पर्सा, ११ मंसिर । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार अजय चौरसियाले अहिलेको चुनाव कम्युनिष्ट शासन चाहने र लोकतन्त्र चाहेनहरुवीचको लडाई भएको संज्ञा दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले वीरगन्जमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता चौरसियाले यस्तो बताएका हुन्। उनले भने,“हामी लोकतन्त्रको पक्षपाती भएकोले कांग्रेसको पक्षमा जनता छन् । डेमोक्रेसी जोगाउनको लागि कांग्रेसका नेताहरुलाई जनताले भोट दिँदैछन्, किनकी मधेशको पक्षमा लगातार आवाज उठाउने पार्टी नै नेपाली कांग्रेस हो । संविधान संशोधनको लागि बोल्ने पार्टी पनि हाम्रै पार्टी हो।”

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा जे जति विकास भएका छन् ती सबै कांग्रेस नेतृत्वको सरकारले गरेको समेत दाबी गरे । उनले थपे,“मुलुकमा शान्ति र स्थायित्वको लागि कांग्रेसले पहल गरेको हो, १० वर्षे सशस्त्र द्धन्द्धलाई शान्तिसम्झौतामार्फत अन्त्य गर्दै अघि बढाउन कांग्रेसले नै पहल गरेको हो, यो कुरा पूरा देश र जगतलाई थाहा छ।”

उनले एमाले र माओवादी केन्द्रले कसैको ईशारामा वाम गठबन्धन बनाएको आरोप लगाउँदै भने,“अगलबगलमा कम्युनिष्ट शासन ल्याउन खोजिँदैछ, यसलाई रोक्ने तागद कांग्रससँगमात्रै छ । किनकी वाम गठबन्धनले बुलेटबाट नसकेकोले उनीहरुले ब्यालेटबाछ कम्युनिज्म ल्याउन खोज्दैछन् । त्यसैले जनता सचेत हुनुहुन्छ । अब उनीहरुलाई भोट हाल्ने पक्षमा जनता छैनन्।”

उनले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनको लागि कांग्रेसले धेरै काम गरेको समेत जिकिर गरे । उनले भने,“संविधानको फण्डामेन्टल राईटमा समावेशीता उल्लेख छ, निर्वाचन क्षेत्र जनसंख्याका आधारमा बनेको छ, यी सबै काम तत्कालिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशिल कोइरालाको पालामा भएको हो, एमालेले गर्दा संशोधन नभएको हो । मधेशी जनतासँग कांग्रेसबाहेक अरु कोही विकल्प छैन । मधेशको विकास र माग पूरा गराउन हामी पहल गर्छौं”

नेता चौरसियाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्ने समेत ठोकुवा गरे । उनले वाम गठबन्धनले दुई तिहाईको सपना देखेको भन्दै उनीहरुको सपना नेपाली जनताले कहिल्यै पूरा हुन नदिने स्पष्ट पारे । उनले भने,“ओली र प्रचण्डको दुई तिहाई ल्याउने कुरा सपनाको कुरा हो । अहिले डेमोक्रेसीमाथि जुन किसिमले प्रहार भैरहेको छ, जनता सचेत छन् । मधेशमा कांग्रेस जित्दैछ । कांग्र्स पहिलो पार्टी बन्छ । मधेशमात्रै होईन, पूरा देशमा नै कांग्रेसले स्पष्ट बहुमत ल्याउँछ, चुनाव सकिएर नतिजा आएको दिन तपाईहरु हेर्नुहोस, को पहिलो बन्छ भनेर ?”

मधेशमा त राजाप नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले बहुमत ल्याउँछौं भनेर उनीहरुको नेताले दाबी गरिरहेका छन् नि भनेर धमलाले सोधेको एक प्रश्नमा उनले भने,“मधेशका जनतालाई राम्रोसँग थाहा छ, अहिले आएको चुनौतिलाई फोरम र राजपाले फेस गर्न सक्दैनन् । कम्युनिज्मलाई फेस गर्न सक्ने शक्ति यदि कोही छ भने त्यो नेपाली कांग्रेसमात्रै हो, अरु सँग त्यो तागद छैन।”

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टी एक्लैले २२ देखि २४ सिट जित्ने समेत दाबी गरे । चौरसियाले थपे,“कांग्र्सको पक्षमा आम जनताहरु धुव्रीकृत भएका छन् । कांग्र्ससँग रिसाएर बसेका पत्रकार, वकिलहरु एक कठ्ठा छन् । मधेशमा पनि पहिलो र देशमा पनि पहिलो शक्ति कांग्रेस नै हुन्छ । ईतिहाँस हेर्नुहोस्, हिजो ती सबै शक्तिहरु जो कांग्रेससँग टक्कर दिए, ती सबै सकिएका छन् ।”

विगतमा कांग्रेसभित्र गुटबन्दी हुने गरेको र असुन्तुष्टि छताछुल्ल भएकै कारण अन्य पार्टीले त्यसको फाईदा उठाएको उल्लेख गर्दै यो पटकको चुनाव केबल चुनावमात्रै नभएर लोकतन्त्र चाहने र नचाहनेहरुवीचको लडाई भएकोले न्यायप्रेमी र लोकतन्त्रप्रेमी जनताहरु एक जुट भएर कांग्रेसको पक्षमा मतदान गर्ने उनको विश्वास थियो । उनले भने,“कांग्रेसकै रिसाएका मान्छे अब कांग्रेसकै पक्षमा गोलबन्द भएका छन् । असन्तुष्ट भएका र रिसाएका मान्छे गोलाकार र एकाकार भएर चुनावमा लागेका छन् । त्यसैले हामी राम्रोमात्रै होईन, धेरै राम्रो गर्दैछौं।”

उनले मधेशमा कांग्रेसले विकास गर्न सकेन भनेर भन्नु गलत आरोप भएको जिकिर गरे । उनले भने,“मधेशमा कांग्रेसले विकास गर्न सकने भनेर कसले भन्यो ? हामीले धेरै काम गरेका छौं, यो कुरा मलाई भन्दापनि जनतालाई सोध्नुहोस्, जे जति काम भएका छन्, ती सबै हामीले गरेका छौं, अब बाँकी रहेका सबै काम पनि कांग्रेसले पूरा गर्छ । हुन त जति काम हुनुपर्दथ्यो, त्यो चाहीँ हुन नसकेको हो, किनकी कांग्रेसको समय डेमोक्रसी बचाउनमै लाग्यो ।”

आफ्ना प्रतिष्पर्धी उम्मेद्धवार विमल श्रीवास्तवप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले आरोप लगाउँदै भने,“श्रीवास्तव त हिजो राजाको शासनकालमा राजाको समर्थनमा थिए, वीरगन्ज नगरपालिकाको मेयरमा चुनाव लड्दै हुनुहुन्थ्यो । तर म त मधेशको लागि लड्ने मान्छे हुँ ।”

उनले उक्त क्षेत्रमा आफ्नो विजयी सुनिश्चित भैसकेको समेत दाबी गरे । “अजय चौरासियाले जित्छ, किनकी मेरा प्रतिपष्र्धीसँग पैसा छ, मसँग जनता छन् । जनताले यसपाली उहाँलाई कहिल्यै चुनाव नलड्ने अवस्थामा पुर्याईदिन्छन् । पैसाको चहलपहल गर्नेले गरुन तर चुनाव म जित्छु।” उनले जसले जति पैसा खर्चेपनि जनताले उनीहरुको नोटपनि खाने तर भोट चाहीँ त्यस्तालाई नदिने स्पष्ट पारे ।

उनले आफूले जहिल्यैपनि जनताकोवीचमा रहेर काम गरेको सुनाए । उनले भने,“मैले विकास निर्माणको काम धेरै गरेको छु। मसँगै पैसा छैन, जनतामात्रै छन् ।” उनले आफ्नो पूरानो निर्वाचन क्षेत्रमा गएर हेर्न समेत आग्रह गरे । उनले थपे,“मेरो पूरानो क्षेत्रमा जानुहोस र सोध्नुहोस, मैले एक वर्षमा सबै ठाउँमा बक्ती पुर्याएको छु, म चुनाव जित्दापनि जनतासँगै बसेर काम गरेको छु, हार्दापनि उहाँहरुकै बीचमा बसेर काम गरेको छु ।” उनले मधेशका सारा जनता कांग्रेसको पक्षमा रहेको विश्वास दिलाए ।

चौरसियाले वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउने भनेर भन्नु नसुहाउने कुरा हुने समेत तर्क गरे । उनले भने,“वीरगन्ज पश्चिमतिर पर्छ, तर वीरगन्जसँगै रहेको नीजगढलाई बनाउँछौं । किनकी त्यहाँ अन्र्तराष्ट्रिय विमानस्थल पनि बन्दैछ, काठमाडौं जोड्ने फाष्ट ट्रयाक पनि बन्दैछ।”

उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल मधेशको हितमा का मगर्ने पार्टी नै नभएको आरोप लगाए । उनले थपे,“उहाँको पार्टी मधेशको हो कि होईन, अशोक राई उहाँको पार्टीको उपाध्यक्ष होईन ? हिजो संविधान संशोधन नगरी चुनाव हुनुहुँदैन भनेर हामीले अडान लिएर बसेको बेला, उहाँ त एक्कासी चुनावमा भाग लिनुभयो ? उहाँ मधेशवादी हो कि हामी हौं ? यो सोध्नुहोस् ।”

यद्धपी एमाले र माओवादी केन्द्रवीच बाम गठबन्धन बनेसँगै आफहरुले पनि बृहत्त लोकतान्त्रिक मोर्चा बनाएर जानेबारे विचार मिल्ने दलहरुसँग तालमेल गर्न खोजेपनि मधेशमा भनेजसरी तालमेल नभएको स्पष्ट पारे । उनले थपे,“महोत्तरीमा त हामीले महन्थ ठाकुरजीलाई सहयोग गरेका छौं, सप्तरीबाट चुनाव लडेका उपेन्द्र यादवविरुद्ध डमी क्याण्डिेट खडा गरेका छौं ।”
तानाशाही रोक्ने सार्मथ्य कांग्रेसबाहेक अरु कुनै शक्तिसँग नभएकोले जनताले आफ्नो पार्टीलाई अत्यधिक बहुमत दिने चौरसियाले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्