Logo

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुग्यो



धादिङ, १३ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।

दुर्घटनाग्रस्त बसबाट २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–४ स्थित फिस्लिङबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो ।मृतक ६ जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने अन्य एक जनाको गोताखोरले पानीमा डुबेको बस भित्रबाट शव निकालेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ । घाइतेहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन ।

काठमाडौंबाट २६ जनाको चलानी लिएर गएको बसमा बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दा उद्दारमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot