Logo

अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको छ : खनाल



इलाम, १३ मंसिर (रासस) : पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको बताउनुभएको छ ।

इलामको गोर्खेमा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब वाम गठबन्धनले चुनावमा दुईतिहाई मत ल्याउँछ, त्यही भएर विपक्षीहरूको निन्द्रा हराएको छ ।” प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टका विरूद्ध झुट बोलेर जनतालाई भ्रममा पार्न खोजेको आरोप समेत खनालले लगाउनुभयो ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी एकता गर्ने गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको उहाँले बताउनुभयो । पूर्वप्रम खनालले विचार र सिद्धान्त मिल्ने पार्टीबीच एकता हुनुलाई शंका–उपशंका नगर्न मतदातालाई आग्रह गर्नुभयो ।

क्षेत्र नं १ को विकास निर्माणमा सदैव प्रतिबद्ध रहने बताउँदै उहाँले आफूलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । “वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो”–उहाँले भन्नुभयो, “यो कसैका विरूद्ध षडयन्त्रका लागि बनेको होइन ।”



प्रतिक्रिया दिनुहोस्