Logo

कांग्रेस नेता कँडेलको दाबी : कांग्रेसले बहुमत ल्याउँछ, फेरि पनि देउवा प्रधानमन्त्री बन्नुहुन्छ



नवलपरासी, १३ मंसिर । बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्धवार देवेन्द्रराज कँडेलले निर्वाचनपछि नेपाली कांग्रेसले नै सरकार बनाउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले वाम गठबन्धनले दुई तिहाई ल्याउँछु भनेर दिवा सपना देखेको भएपनि निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाएपछि सपनाबाट वाम गठबन्धन ब्युँझिने बताएका हुन् । उनले भने,“निर्वाचनपछि हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुई मत छैन, किनकी अहिले देशव्यापी रुपमा कांग्रेसको पक्षमा जनलहर छ, जनता कांग्रेसलाई विजयी गराउन आँतुर छन्।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको सरकारको नेतृत्वले आफ्नो पार्टीले नै गर्ने र त्यसपछि मुलुकमा विकासको लहर आउने समेत दाबी गरे । उनले आफूहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरुसँगनडराएको जिकिर गर्दै भने,“हामी किन डराउने, उनीहरु विस्तारैविस्तारै समाप्त हुँदै गईरहेका छन् ।”

त्यस्तै उनले एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट आफूहरु एक रक्तिपनि नडराएको स्पष्ट पारे । कँडेलले भने,“६० र ४० को भागबण्डाले उनीहरुका नेता तथा कार्यकर्ताहरु नै मर्माहत बनेका छन्। भागबण्डाको नाममा राम्रा नेताहरु सिद्दिए ।”

तराई मधेशको माँग सम्बोधन गर्नको लागि आफ्नो पार्टीले पहल गरेपनि संविधान संशोधन प्रस्ताव वामपनथीहरुले फेल गरेको उनको आरोप थियो । उनले भने,“संविधान संशोधनमार्फत मधेशीहरुको माँग पूरा गर्ने कुरामा त्यतिवेलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहयोग गरेको थियो, यही कारणले अहिलेको अवस्था मधेशमा एमाले कहाँबाट पुग्यो ?त्यो हेर्नुहोस् ।”

उनले पूरा देशभरिमा कांग्रेसका उम्मेद्धवारहरु विजयी हुने दाबी गर्दै भने,“कति सिट ल्याउँछ, त्यो अहिले म ठ्याक्कै भन्न सक्दिन्, तर एक सय ३८ सिट जो बहुमतको लागि चाहिने हो, त्यो चाहीँ कटाउँँछ । कांग्रेसले बुहमत नपुर्याए कसले पुर्याउँछ ?।”

त्यस्तै उनले प्रत्यक्ष कार्यकारी प्रमुख बनाउने वा अरु के गर्ने भनेर वामपन्थीहरुले दुुई तिहाई ल्याएर संशोधन गर्ने दिवा सपना मात्रै देखेको आरोप लगाए । उनले थपे,“कुनै हालतमा उनीहरुको दुई तिहाई आउँदैन, बहुमत त ल्याउन नसक्ने अवस्था उनीहरुले बुझिसकेका छन्।” त्यस्तै उनले ५ नम्बर प्रदेशमा कांग्रेसको सरकार बन्ने दाबी गरे ।

एमाले र माओवादी केन्द्रको गठबन्धन कुर्सीको लागि मात्रै भएको समेत उनले संज्ञीन आरोप लगाए । उनले थपे,“मतदान सकिएको दिन हेर्नुहोला उनीहरुको हालत सबै छताछुल्ल हुन्छ, त्यसपछि को सँग मिलेर सरकार बनाउने भन्ने खेल खेल्छन् । तर हाम्रो पार्टीभित्र कुनै विवाद छैन ।”

उनले निर्वाचपछि पनि पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने जनाए । यद्धपी उनले सभापति देउवाले आफू नबनेर अरुलाई पनि बनाउने सक्ने स्पष्ट पारे । को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले पार्टीभित्र कुनै विवाद नभएको समेत उनको भनाई थियो ।

“शीर्ष नेताहरु बसेर को प्रधानमन्त्री बन्ने टुँगो लगाउनुहुन्छ । दाबी त जसले पनि गर्न सक्छन् । राजनीति समाजसेवा हो, तर पदको लागि दाबी गर्नु स्वभाविक हो, त्यसैले प्रकाशमानसिंहजीले गर्नुपनि स्वभाविक हो”,उनले भने।

कँडेलले उक्त क्षेत्रमा आफूले धेरै विकासका कामहरु गरेको सुनाए । उनको भनाई थियो,“विकासको कुरा गर्ने हो भने मैले धेरै काम गरेको छु। नगरपालिका मैले बनाएको हुँ । मेरै कारणले गर्दा, यो नगरपालिका बनेको हो । अहिले बाटोघाटो हेर्दै जानुहोस् । अब स्मार्ट सिटी कल्पना भर्खरै आएको हो । प्रत्येक प्रदेशमा एउटा विश्वाविद्यालय बन्छ । संविधान आएको छ, अधिकार पाएका छौं । बल्ल त निर्णय भएको छ ।”

उनले दश वर्षको लागि विकास कसरी गर्ने भनेर पार्टीले यसअघि नै योजना सार्वजनिक गरिसकेकोले ती सबै योजनाहरुलाई कार्यान्वयन गर्न आफूहरु सबै लाग्ने समेत जनाए । त्यस्तै उनले कार्यकालभित्रै खासगरी पाँच वर्षभित्र आफूले मतदाताहरुसँग राखेका बाचाहरु पूरा गरि छाड्ने समेत ठोकुवा गरे ।

उक्त क्षेत्र समस्या नै समस्याले झेलिएको क्षेत्र भएको उल्लेख गर्दै उनले अहिले देखिएका सबै खाले समस्याहरुलाई आफूले हल गर्दै जाने पनि प्रतिबद्धता जनाए । उनले भने,“यो क्षेत्रमा वामपन्थीहरुले दुई पटक अवसर पाए, तर केही हुन सकेन । बामपन्थीहरुको सपना छ, हिजो प्रचण्डले पनि सपना बाँडेका थिए, थारुकामा जाँदा थारु राज्य दिन्छु, जहाँ गए त्यहीँका जनतालाई तिमीहरुलाई राज्य दिन्छु भने, तर कांग्रेसले विकासका लहर ल्याएको छ। ऋहिले धेरै मेडिकल कलेजहरु छन्, यी सबै कसले बनायो, भैरहवा मेडिकल कलेज, पाल्पा, भैरहवा जानुहोस्, शिक्षाको क्षेत्रमा फड्को मारेको छ ।”

त्यस्तै उनले हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग चार लेनको बन्दैछ यी सबै कांग्रेसले नै गरेको जिकिर गरे । “यो सरकारले मुर्त रुप दियो, काम सुरु भैसक्यो, उनले थपे,“केपी ओली त रेलमात्रै होईन, पानीजहाज कुदाउँछु भन्नुभएको हो, ग्याँसको पाईप विछ्याउने भन्नुभयो, अहिले खोई त उहाँहरुको सपना ? हामीले त झुठो बाचा गरेको छैन । देशभरि हामीले झुठो सपना बाँडेका छैन ।”

आफू चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाई थियो । उनले थपे,“म त आरामजनक रुपमा चुनाव जित्छु । म मतदाताहरुमाथि विश्वास गर्छु । मैले भन्दापनि यहाँ नेपाली कांग्रेसले जित्दैछ र देशैभरि जित्दैछ।”



प्रतिक्रिया दिनुहोस्